काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश आइपुगेकी छिन्।
फ्रान्समा लिग खेलिरहेकी साम्बा सोमबारदेखि सुरू हुने च्याम्पिनयनसिप खेल्न नेपाल आइपुगेकी हुन्। उनले आज कीर्गिस्तानसँग हुने पहिलो खेल गुमाउने सम्भावना छ।
च्याम्पियनसिपमा नेपालले आज साँझ ६ बजे पहिलो खेलमा किर्गिस्तानसँग खेल्दैछ। यसअघि प्रतियोगिताका लागि युएईको लिग खेलिरहेकी रेखा पौडेल शनिबार साँझ नेपाल आइपुगेकी थिइन्।
पाँच दिनअघि कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट नेपाल फर्किएकी थिइन्। प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ। प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ।