काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सरकारी जमिन कब्जा गरी बसेकालाई जग्गा बाँड्न सरकारले भूमि अध्यादेश ल्याएको बताएका छन् ।
पार्टीको पोलिटब्युरो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
उनले सरकारले अव्यवस्थित बसोबासीको नाममा सरकारी वा सार्वजनिक जमिन कब्जा गरी बसेकालाई सित्तैमा जग्गा दिने प्रावधान राखेर भूमिसम्बन्धी अध्यादेश जारी गरेको बताए।
अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकार भूमाफियाको संरक्षणमा लागिपरेको उल्लेख छ।
अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यो सरकार आम नेपाली जनताको पक्षमा होइन दलाल व्यापारी र भूमाफियाको पक्षमा छ भन्ने कुरा यसले केही दिनअघि जारी गरेको अध्यादेशहरूका तीन करोडसम्म राजस्व चुहावट गर्नेलाई र जानाजान वा बदनियतपूर्वक राजस्व छल्ने नियतले कार्य गर्नेलाईसमेत मुद्दा चलाउँदैन।’
राजनीतिक प्रतिवेदनमा पार्टीको महाधिवेशन चलिरहेकै बेला नेपाली कांग्रेस र नेकपा एमाले मिलेर वर्तमान सत्ता गठबन्धन बनाएको उल्लेख छ।
सरकार गठन भएको सात महिना हुँदासम्म यो सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको प्रतिवेदनमा भनिएको छ।