अछाम । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५औं संस्करण बुधबारबाट चौरपाटी गाउँपालिकामा सुरु भएको छ । जिल्ला खेलकुद समिति अछामको आयोजनामा चौरपाटीमा जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले रनिङ शिल्डको उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको दाबी गरे ।
उनले अछामका विभिन्न पालिकामा खेल मैदान निर्माणका लागि प्रदेशबाट बजेट विनियोजन गरिएको बताए । चौरपाटी गाउँपालिकाको विशाल खेल मैदानसहित अन्य खेल पूर्वाधारको विकास गरि समग्र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नो तर्फबाट आगामी दिनमा समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिता उद्घाटन समारोहमा १० वटै स्थानीय तहका प्रमख र उपप्रमुखको सहभागिता रहेको थियो । सबैले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले आफूहरुले खेल क्षेत्रको विकासका लागि प्रयास गरिरहेको दाबी गरेका थिए ।
यस्तै चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले पनि आफूले खेल क्षेत्रलाई अगाडि बढाउन दिनरात नभनेर लागि रहेको दाबी गरे । उनले यस पटक स्वर्ण पदक जित्ने खेलाडीलाई पाँच हजार दिने घोषणा गरे ।
कार्यक्रम समन्वय प्रमुखदेखि सिडिओसम्मले बोलेका थिए । प्रतियोगिता उद्घाटनमा गाउँपालिकाका ७ वटै वडाबाट विभिन्न साँस्कृतिक कार्यक्रम पनि ल्याइएका थिए । आज पहिलो दिन उद्घाटन मात्रै भएको थियो । बिहीबार बिहानबाट खेलकुदका कार्यक्रमहरु हुनेछन् ।