Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : फाइनलमा म्यानमारसँग स्तब्ध नेपाल

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : फाइनलमा म्यानमारसँग स्तब्ध नेपाल

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। बुधबार दशरथ रंगशाला भएको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २–० गोलको हार बेहोरेको हो ।

१३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।

नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।

म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

नेपालले सन् २०१० यता छ वटा महिला साफ च्याम्पियनसिप, तीन वटा साग गेम्स, एक वाफ विमेन्स च्याम्पियनसिप र अन्य तीन वटा अनौपचारिक प्रतियोगिताको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन।

खेलको ६२ मिनेटमा म्यानमारका लागि नो पो खिनले गोल गर्दै दशरथ रंगशालामा उपस्थित १५ हजार ५ सय बढी घरेलु दर्शकलाई स्तब्ध पारिन्। उनले डिबक्स नजिकबाट बल कुदाएर दोस्रो बार च्याप्दै बललाई जाली चुमाउँदा नेपाल दर्शक शान्त हुन बाध्य भए।

दुई मिनेटपछि म्यानमारले अग्रता दोब्बर पार्‍यो। म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो। नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन्।

त्यसअघि खेलको १० औं मिनेटमा एन्जिलाले यन वादीको प्रहार विफल पारिन्। २४ मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै नेपालको संकट टारिन्। त्यसअघि म्यानमारकी सान्थ्वाले डिबक्स भित्रबाट सशक्त प्रहार गरेकी थिइन्।

खेलको ३५ मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो। रेखा पौडेलको पासमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले हानेको प्रहार म्यानमारको गोलकिपरले फर्काइन्। रिबाउन्डमा रेखा पौडेल पनि सफल हुन सकिनन्। फेरि सो बल डिबक्समा क्लियर हुन नसके पनि नेपाल फिनिसिङमा चुक्यो।

४४ मिनेटमा बिमला बिकको फ्रिकिक म्यानमारकी खेलाडीले पोल नजिकबाट क्लियर गरिन्। दोस्रो हाफको सुरूआतमा नेपालले म्यानमारलाई दबाब दियो। ५४ मिनेटमा विमला विकको क्रममा डिबक्स भित्रबाट साम्बाले गरेको हेडर दोस्रो पोल नजिकबाट बाहिरिँदा नेपालले फेरि अर्को अवसर गुमायो।

तर ६२ र ६४ मिनेटमा गोल खाएपछि नेपालमाथि दबाब परेको थियो। जसका कारण म्यानमारले खेल नियन्त्रण लिन सफल भयो। खेलको इन्जुरी समयमा साम्बाले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रिकिक हाने पनि म्यानमारकी गोलकिपरले विफल पारिन्।

लिग चरणमा नेपालले फिफा वरीयतामा ४८ स्थान माथिको म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको थियो। सो खेलमा साम्बाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।

नेपालले यो प्रतियोगिता महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको हो। आगामी जुनमा नेपालले छनोट खेल्दैछ। छनोटको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077