पोखरा । पर्यटकीय राजधानी पोखरामा हुन लागेको ‘एलजी फेस्ट २०२५’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था लालिगुराँस एशोसियसनले जनाएको छ ।
पोखराको सबैभन्दा ठूलो संगीत उत्सवका रुपमा लिइएको एलजी फेस्टमा नेपालकै चर्चित ब्याण्ड र कलाकारहरुको प्रस्तुति रहने छ ।
फागुन १६ गते शुक्रबार अम्मरसिंह ग्राउण्डमा आयोजना हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकमध्येका समिर बस्नेतले बताएका छन् । अन्तर्राष्ट्रिय सफलतापछि अब नेपालमा पहिलो पटक भब्य म्युजिक फेस्टको आयोजना हुन लागेको उनले बताए ।
म्यूजिक फेस्टमा लाइभ म्मूजिकका अलवा स्वादिष्ठ खानाका परिकार, विशेष पेय पदार्थ र मनोरञ्जनका कार्यक्रमहरु हुनेछन् ।
पोखरामा आयोजना हुने एलजी फेस्ट २०२५ मा हाँस्य कलाकार जितु नेपालले कार्यक्रम होस्ट गर्दैछन् भने कार्यक्रममा नेपाली ब्याण्ड जोन एण्ड द लोकल्स, पूर्ण राई एण्ड द दाजुभाई र एमटी. ८८४८, लक्ष्य ब्याण्ड, ह्याप्पी भिलेज अर्चएस्ट्रा (इन्टरनेशनल) लगायतका ब्याण्ड र कलाकारहरुले दर्शकहरुलाई मनोञ्जन प्रदान गर्नेछन् ।
लालीगुराँस एसोसिएसनले चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा जनवरी ३० मा ‘एलजी फेस्ट २०२५’ सफलतापूर्वक सम्पन्न गरिसकेको छ । हङकङको इतिहासमै पहिलो पटक खुल्ला ठाउँमा सम्पन्न ‘एलजी फेस्ट २०२५’ मा झण्डै पाँच हजार दर्शकको उपस्थिति रहेको थियो ।
लालीगुराँस एसोसिएसनले ‘एलजी नाइट’ पछिल्लो समय अस्ट्रेलिया, यूके, अमेरिका, मकाउ, जापानलगायतका देशमा पनि गर्दै आएको छ ।