काठमाडौं । गायक दुर्गेश थापा र ज्योति मगरबीच तुलसीपुर महोत्सवलाई लिएर जुवारी चलेको छ ।
दुर्गेश महोत्सवमा नगएपछि गायिका मगरले उनलाई व्यंग्य गर्दै आज हेलिकोप्टर पनि उडेन कि क्या हो भन्दै फेसबुकमा व्यंग्य गरेकी थिइन् । त्यसको जवाफ दुर्गेशले सोमबार फेसबुकबाटै फर्काएका हुन् ।
उनले ज्योतिलाई बधाई दिँदै आफ्नो कार्यक्रम रोक्न सफल भएको बताए । “कोही कलाकारले हेलिकोप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ,” उनले लेखेका छन्, “उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो । हजुरको रणनीति साँच्चै गज्जबको रहेछ ।”
यो घटनाले केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त रहेको फेरि प्रष्ट भएको उनको भनाई छ । कार्यक्रम हुन नदिने खबर आएपछि आफू फर्किएको भन्दै दुर्गेशले फेसबुकमा लेखेका छन् ।
दर्शकको माया पाएसम्म कसैले नाम काट्दैमा केही नहुने पनि प्रष्ट पारेका छन् । आफ्नो लोकप्रियता देखेर जल्नेहरूले यस्तो गरेको उनको भनाइ छ ।
“नेपालका मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू । हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु,” उनले लेखेका छन्, “दर्शकको अपार माया, हजारौँको भीड, अनगिन्ती अवसरहरू, यी सबै देखेर जल्नेहरू जल्दै रहुन् ।”