काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ सय ३१ रनले हरायो । आर्मीले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७ ओभर १ बलमा १ सय १२ रनमा अलआउट भयो ।
यस्तै रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले हरायो । एपीएफले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रनमात्रै बनाउन सक्यो ।
यस्तै दाङको देउखुरी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले हरायो । सुदूरपश्चिमले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको कोशी ४५ ओभर १ बलमा २ सय ११ रनमा अलआउट भयो । कोशीका शकिब हकले सबैभन्दा धेरै ६२ रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङको गरेको सुदूरपश्चिमले किरण ठगुन्नाको कीर्तिमानी शतकमा २ सय ४२ रन बनायो । कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए । लक्ष्य पछ्याउने क्रममा कोसीले ४५.१ ओभरमा सबै विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो ।