काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलाई पत्र नकाट्न आग्रह गरेका छन्।
बल्खुमा आज राप्रपाले गरेको आयोजित खबरदारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले उक्त आग्रह गरेका हुन् ।
कार्यक्रम स्थल फोहोर हुने र महानगरका संरचना तोडफोड हुने गरेकोमा महानगरले आयोजक लगायत कार्यक्रमसँग सम्बन्धित पक्षलाई पत्र काट्ने गरेको छ। राप्रपाले मंगलबार बल्खुमा खबरदारी सभा गरेको थियो।
उक्त सभामा सम्बोधन गरेपछि अध्यक्ष लिङ्देनले कार्यक्रम स्थलको फोहोर स्वयमसेवकहरूले नै उठाउने बताए।
अध्यक्ष लिङ्देनले भने, ‘यो बल्खु काठमाडौं महानगरभित्र पर्छ होइन ? हाम्रो बालेनजीलाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु। हाम्रो साथीहरूलाई आफै सफा गरेर जान आग्रह गर्छु, केही पनि फोहोर रहने छैन है।’
राप्रपाले मंगलबार अपराह्न महानगरपालिकाको गाडी बोलाएर फोहोर उठाएर पठाउने तयारी गरेको छ।
यसअघि गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थल गेटदेखि विभिन्न ठाउँमा महानगरका संरचनामा क्षति र फोहोर भएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।