काठमाडौं । फिफा विश्वकप–२०२६ मा पहिलो पटक सहभागी बनेको अफ्रिकी टापु राष्ट्र केप भर्डेले इतिहास रच्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
करिब ५ लाख जनसंख्या भएको राष्ट्रले विश्व फुटबलकै सबैभन्दा ठूलो आश्चर्यमध्ये एक प्रस्तुत गर्दै अन्तिम ३२ मा प्रवेश गरेको हो ।
समूह ‘एच’ मा अपराजित रहँदै केप भर्डे उपविजेता बनेको छ । शनिबार हस्टन स्टेडियममा सम्पन्न अन्तिम खेलमा उसले साउदी अरेबियासँग ०–० को बराबरी खेलेपछि नकआउट यात्रा तय गरेको हो ।
यसअघि केप भर्डेले विश्व फुटबलको शक्तिशाली टोली स्पेन र दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसँग पनि बराबरी खेलेको थियो । तीन खेलमा हारविहीन प्रदर्शन गर्दै उसले समूह चरण पार गर्न सफल भयो।
यस समूहमा स्पेनले ७ अंकसहित शीर्ष स्थान हासिल गर्दै समूह विजेता बन्यो भने केप भर्डे दोस्रो स्थानमा रहँदै ऐतिहासिक उपलब्धि हात पार्न सफल भयो।
विश्वकपमा सहभागी टोलीको संख्या बढाउने फिफाको निर्णयमाथि उठेका प्रश्नबीच केप भर्डेको प्रदर्शनलाई त्यस निर्णयको सफल उदाहरणका रूपमा हेरिएको छ । सीमित जनसंख्या र स्रोतसाधनका बाबजुद विश्व फुटबलका स्थापित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै नकआउट चरणमा पुग्नु धेरै फुटबल विश्लेषकले असाधारण उपलब्धि मानेका छन्।
केप भर्डे अब विश्वकपको नकआउट चरणमा पुग्ने इतिहासकै सबैभन्दा सानो जनसंख्या भएको राष्ट्र बनेको छ, जसले विश्व फुटबलमा नयाँ इतिहास कोरेको छ।