काठमाडौं । चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले १५१ रन बनाएको थियो ।
कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गरेका हुन्। पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ८१ रनको साझेदारी गरेका थिए । आशिष शेखले ३३ रन बनाए ।
तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र वसिर अहमदले ६२ रनको साझेदारी गरे । रोहित ३७ रनमा र वसिर ३० रनमा अविजित रहे।
कतारका लागि मुजीव उर्र रहमानले २ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो।
कतारका लागि कप्तान इक्रमूललाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका हुन्।
ओपनिङमा आएका अर्मुगागणेश नागाराजनले १३ रन बनाए अर्का ओपनर रिफाई ठेरुभात ६ रनमा क्याच आउट भए। शाहजैब जामिलले ३१ रन बनाए। मुजीव उर रहमान २० र मोहम्मद ईर्साद १८ रनमा अविजित रहे ।
बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १-१ विकेट लिए। यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।
सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।