काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो मात्र हित नहेर्न आग्रह गरेका छन् । शुक्रवार नेकपा एमालेको बुटवल सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले शिक्षकहरूलाई आफ्नो मात्र हित नहेरी देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता विचार गर्न आग्रह गरे । शिक्षकहरू भावनामा बग्दा समस्या समाधान नहुने उनको भनाइ छ ।
उनले भने, ‘आफ्ना मात्रै हितहरुलाई हेरेर हुँदन, राष्ट्रहित कसरी हुन्छ, राष्ट्रको क्षमता के छ ? राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरूको समाधान खोज्नुपर्छ। शिक्षक साथीहरूलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन।’
साथै उनले रोकिएको शिक्षा ऐन उपयुक्त ढंगले ल्याउने र शिक्षकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।