Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय मन्त्री नेपाल आएकै दिन चिनियाँ कम्पनीलाई सेटिङमा जगदुल्लाको ठेक्का !

भारतीय मन्त्री नेपाल आएकै दिन चिनियाँ कम्पनीलाई सेटिङमा जगदुल्लाको ठेक्का !

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । चेककाण्ड मच्चाएर टेण्डर नै रद्द गरिएको बहुचर्चित १ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको जिम्मा सेटिङमा चिनियाँ कम्पनीलाई सुम्पने तयारी भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) संजय सापकोटा र अध्यक्ष सुनिल पौडेलको मिलेमतोमा योग्य कम्पनीलाई अयोग्य बनाएर अयोग्यलाई योग्य बनाई ठेक्का सुम्पने तयारी गरिएको छ ।

जगदुल्ला आयोजना निर्माणका लागि भारतीय कम्पनी एसआईएल र नेपाली कम्पनी हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी, टर्कीको टु एमजी–नेपाली कम्पनी फेवा तथा चिनियाँ कम्पनी जेसीई र नेपाली कम्पनी अनक जेभी र चिनियाँ कम्पनी सिनो हाइड्रोले बोलपत्र पेश गरेका थिए ।

जसमध्ये प्राविधिक मूल्यांकनमा चिनियाँ कम्पनी जेसीई–अनक जेभी पहिलो नम्बरमा छनौट भएको छ भने सिनो हाइड्रोलाई दोस्रोमा छनौट गरिएको सूचना आज (बैशाख ९ गते)को अन्नपूर्ण पोष्टमा प्रकाशित गरिएको छ ।

स्रोतका अनुसार १३ अर्ब ५० करोड रुपैयाँको यो ठेक्कामा जेसीई–अनकले भ्याटसहित १२ अर्ब १५ करोड कबोल गरी टेण्डर बिड गरेको छ भने सिनो हाइड्रोले भ्याटसहित १३ अर्ब १४ करोडमा टेण्डर हालेको छ । टु एमजी–फेवाले भने भ्याटसहित करिव १३ अर्ब मूल्य कबोल गरी टेण्डर हालेको स्रोत बताउँछ । हाई हिमालयसँग जेभी गरेको भारतीय कम्पनी एसआईएलले भने १२ अर्ब ४६ करोडमा टेण्डर बिड गरेको थियो ।

टर्किस कम्पनी टु एमजीले जेभी गरेको फेवा कन्स्ट्रक्सन निकोलस पाण्डेको कम्पनी हो । पाण्डेले टेण्डर हत्याएको भए भीआईपीएलले सब–कन्ट्याक्टमार्फत् काम गर्ने सहमति भएको थियो ।

सबैभन्दा अचम्म त के छ भने प्राविधिक मूल्यांकनमा छनौट गरिएको जेसीई–अनक जेभीले अहिलेसम्म कुनै पनि हाइड्रोसम्बन्धी काम गरेको छैन । चिनियाँ कम्पनी जेसीईको बेबसाइट हेर्दा पनि उसले कन्स्ट्रक्सनको कामबाहेक केही गरेको देखिंदैन । त्यस्तै नेपाली कम्पनी अनकले पनि अहिलेसम्म हाइड्रोको काम गरेको छैन । अनक सडक र पुल निर्माण गर्ने कम्पनी हो ।

जवकि टेण्डरमा भाग लिएको भारतीय कम्पनी एसआईएल भारतमा हाइड्रोसम्बन्धी काम गर्ने कम्पनीहरुमध्ये चार नम्बरमा पर्ने भारतीय हाइड्रो कम्पनीहरुकै सूची हेर्दा देखिन्छ ।

नेपाली कम्पनी हाई हिमालयसँग जेभी गरे पनि जगदुल्लाको टेण्डर पाएको भए एसआईएल आफैं नै सम्पूर्ण काम गर्न चाहन्थ्यो । तर, उर्जामन्त्री दीपक खड्काले कमिसन नपाउने भएपछि हाइड्रो सम्बन्धी काम नै नगरेको जेसीई–अनकलाई क्वालिफाइड गरी हाइड्रोसम्बन्धी काममा निपूर्ण भारतीय कम्पनीलाई आउट गरिएको छ ।

यो खेल यस्तो समयमा भएको छ, आजै भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टर नेपाल आएर उर्जामन्त्री खड्कासँगै ९ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत परियोजनाको अवलोकन गरेका छन् ।

भारतीय कम्पनी एसआईएलले यसअघि नेपाल विद्युत प्राधिकरणको सान्जेन हाइड्रो निर्माण सम्पन्न गरिसकेको छ । उक्त कम्पनीलाई सोधपुछ नै नगरी अयोग्य बनाउनुले पनि मन्त्री खड्का र सिईओ सापकोटाको नियतमाथि प्रश्नचिन्ह उठेको छ ।

स्रोतका अनुसार भारतीय दूताबासले नै एसआईएललाई प्रोत्साहन हुनेगरी ठेक्कामा बिड गराउन पहल गरेको थियो । भारत सरकारले नेपालमा हाइड्रोको काम गर्न चाहिरहेको बेला कमिसनकै लागि मन्त्री खड्काले चिनियाँमोह देखाएर अयोग्य हुने कम्पनीलाई योग्य बनाई टेण्डर सुम्पिन खोजेका छन् । यसमा करिव १ अर्ब कमिसनको खेल रहेको जगदुल्लाका एक उच्च अधिकारी बताउँछन् ।

स्रोतका अनुसार प्राविधिक प्रस्तावको पहिलो नम्बरमा परेर टेण्डर हत्याउन लागेको अनकका सञ्चालक कविन महर्जनले बुढानीलकण्ठ मिलाउन एक विचौलियालाई प्रयोग गरेका थिए ।

ती विचौलियाले सरकार गठनका योजनाकार रामेश्वर थापासम्म कुरा पुर्याएपछि उनै थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री खड्कासँग सेटिङ मिलाएका हुन् । त्यही भएर नै सरकारी अखबारहरुमा छापिनुपर्ने टेण्डरसम्बन्धी विज्ञापन थापाकै अन्नपूर्ण पोष्टमा प्रकाशित गरिएको छ ।

यसरी गरिंदैछ सेटिङ

टेण्डर छनौटमा अर्को नाटक के गर्न लागिएको छ भने पहिला एउटामात्रै कम्पनीलाई प्राविधिक प्रस्तावमा पास गरिएको भनेर जगदुल्लाका सीइओ सापकोटाकै योजनामा चेककाण्ड मच्चाइएको थियो ।

उक्त समयमा सापकोटाले कमिसन नपाउने देखेर मन्त्रीले गरेको सेटिङलाई भाँजो हाली चेककाण्ड मच्चाएका थिए । अहिले भने मन्त्री खड्काले नै सापकोटाको भाग छुट्याएका कारण दुई वटा कम्पनीलाई प्राविधिक प्रस्तावमा छनौट गरी टेण्डरमा पारदर्शीता अपनाइएको नाटक मञ्चन गरिएको छ ।

जगदुल्लाका ती कर्मचारी भन्छन्–‘पहिला एउट कम्पनीमात्रै आउँछ भन्दा विरोध भयो । सीईओले नै टेण्डर रद्द गराउन भूमिका खेले । त्यो बेला हाई हिमालय जेभी (टर्कीस) लाई मन्त्री खड्काले टेण्डर दिलाउन खोजेका थिए । हाई हिमालयका किरण मल्लले काम गर्नै खोजेका थिएनन् । ‘क्वालिफिकेसन मिट’ गराउन उनको नाममात्र प्रयोग भयो । टेण्डर पाएको भए जगदुल्लाको काम त्यतिखेर माउन्टेन इन्फाले गर्दथ्यो । माउन्टेन इन्फा सीएचडीसी होल्डिङद्वारा प्रवद्र्धित कम्पनी हो । यसले नै सब–कन्ट्य्राक्ट गर्न खोजेको थियो । सीएचडीसी होल्डिङमा पूर्वमन्त्री धनबहादुर बुढा पनि संलग्न छन् । बुढा, मन्त्री खड्का र सीईओ सापकोटाबीच घनिष्ठ सम्बन्ध छ । अहिले अन्तिममा ठेक्का सेटिङ गराउने भित्री योजनाकार पनि उनै बुढा हुन् ।’

ती अधिकारीका अनुसार प्राविधिक प्रस्तावको पहिलो नम्बरमा परेको जेसीई–अनकले अब जगदुल्लाको टेण्डर हत्याउने निश्चित छ । अबको १५ दिनपछि आर्थिक प्रस्ताव खोलिने हुँदा सेटिङमै मूल्य समायोजन गरी जेसीई–अनकलाई टेण्डर दिलाउने निश्चित छ ।

अर्कोतिर टेण्डर बिड गर्ने क्रममा सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को बेबसाइटमा फाइल अपलोड नभएको तथा सेटिङमा बिड गर्न नदिएको भन्दै भ्याली कन्स्ट्रक्सनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जगदुल्ला आयोजना र पीपीएमओविरुद्ध उजुरी हालेपछि छानबिन भइरहेको छ । अख्तियारले पीपीएमओसँग टेण्डर सम्बन्धी सम्पूर्ण फाइल मगाएर अनुसन्धान गरिरहेको छ ।

भारतीय पक्ष रुष्ट

भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर नेपाल आएर उर्जामन्त्री खड्कासँगै अरुण–३ जलविद्युत परियोजनाको अवलोकन गरिरहेकै दिन मन्त्री खड्काले चिनियाँ कम्पनीलाई १ सय ६ मेगावाट क्षमताको जगदुल्लाको टेण्डर दिलाउनेगरी सेटिङ गरेको खबर भारतीय दूताबाससम्म पुगिसकेको स्रोत बताउँछ ।

भारतीय मन्त्री नेपाल आएकै दिन भारतीय प्रतिष्ठित कम्पनी नै ठेक्काबाट आउट भएपछि भारतीय दूतावासले समेत यस विषयमा मन्त्री खड्कासँग चासो राखेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अहिलेसम्म तय हुन नसक्नु तथा परराष्ट्रमन्त्री आरजु राणालाई भारतीय पक्षले बेवास्ता गरिरहेका बेला भारतको विशेष रुची रहेको हाइड्रोमा भारतीय कम्पनीलाई नै अयोग्य बनाउनुले मन्त्री खड्काले भारतीय पक्षलाई थप चिढ्याउन खोजेको प्रष्ट देखिन्छ ।

[caption id="attachment_342655" align="alignnone" width="1710"] भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरलाई अरुण–३ जलविद्युत परियोजनाको अवलोकन गराउँदै उर्जामन्त्री दीपक खड्का[/caption]

त्यसो त भारतले चिनियाँ कम्पनीले निर्माण गरेका कुनै पनि हाइड्रोका बिद्युत खरिद गर्दैन । स्रोतका अनुसार यो ठेक्कामा मन्त्री खड्काले १ अर्ब आर्थिक चलखेल गर्दैछन् । मन्त्री खड्काकै भ्रष्ट आचरणका कारण कांग्रेस सभापति शेरबहादुर देउवाले पहिल्यै हटाउन खोजेका थिए ।

तर, कांग्रेस नेता सशांक कोइरालालाई पार्टी अध्यक्ष बनाउन भित्रभित्रै अर्थ संकलन गरिरहेका मन्त्री खड्का उनै कोइरालाका कारण जोगिंदै आएका छन् ।

आयोजनामा क–कसको लगानी ?

जगदुल्ला आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्दैछन् । नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्नेछ । सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट बैंकले लगानी गर्नेछन् ।

त्यस्तै, एचआइडिसीएलले रु चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रु चार अर्ब, लक्ष्मी सन्राइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड लगानी गर्नेछन् । यो आयोजना निर्माणका लागि २३ अर्ब लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब रु १६ अर्ब ऋण र रु सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077