काठमाडौं । चेककाण्डका कारण टेण्डर नै रद्द भएको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको पछिल्लो ठेक्का पनि विवादमा परेको छ । प्राविधिक मूल्यांकनमा छानिएको चिनियाँ कम्पनीले नै अर्को चिनियाँ कम्पनीविरुद्ध उजुरी गरेपछि विवाद चुलिएको हो ।
आयोजनाले मंगलबार प्रकाशित गरेको सूचना अनुसार चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन लिमिटेड (जेसीई)–अनक जेभी पहिलो र सिनो हाइड्रोलाई दोस्रोमा छनौट भएका छन् ।
जगदुल्लामा प्राविधिक मूल्यांकनमा छानिएको सिनो हाइड्रो कर्पोरेसनले अर्को चिनियाँ कम्पनी जेसीईविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय उजुरी दिएको छ ।
बुधबार सिनोले कार्यालयमा दिइएको उजुरीमा जेसीईको हाइड्रोपावरमा काम गरेको आधिकारिक इतिहास र अनुभव नभएको र बोलपत्रअनुसार कम्पनीको योग्यता नै नपुग्ने दाबी गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय सापकोटा र अध्यक्ष सुनिल पौडेलको मिलेमतोमा योग्य कम्पनीलाई अयोग्य बनाएर अयोग्यलाई योग्य बनाई ठेक्का सुम्पने तयारी गरिएको थियो । सोही अनुसार मंगलबार हाइड्रोमा काम गरेको अनुभव नै नभएको जेसीईलाई प्राविधिक मूल्यांकनमा पहिलो नम्बरमा राखिएको थियो ।
[insert page='342651' display='yopanipadhnuhos.php']
मन्त्री खड्का र सिइओ सापकोटाले पहिले नै सेटिङ मिलाएर नेपाली कम्पनीसँग जेभी गरेर कम रकम प्रस्ताव गरेको जेसीईलाई ठेक्का दिन खोजेको चिनियाँ कम्पनीकै उजुरीबाट प्रष्ट हुन्छ ।
यस्तो अवस्थामा सिनो हाइड्रोले जेसीई–अनक जेभीविरुद्ध उजुरी गरेपछि मन्त्री खड्काको स्वार्थ छताछुल्ल भएको हो ।
जगदुल्ला हाइड्रोपावर कम्पनीले गत वर्ष माघ ७ देखि फागुन २१ गतेसम्म आवेदन दिनसक्ने गरी ग्लोबल टेन्डर आह्वान गरेको थियो।
सिभिल र हाइड्रोमेकानिकल कामका लागि आह्वान भएको टेन्डरमा जेसीई–एएनके, सिनो हाइड्रो, टुएमजी–फेवा कन्स्ट्रक्सन, सिल–थ्रिएचसीले आवेदन दिएका थिए।
यीमध्ये दुई चिनियाँ कम्पनी प्राविधिक रुपमा छनोट भएको सूचना मंगलबार सार्वजनिक भएको थियो।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राविधिक प्रस्ताव मात्रै खोलेकाले आर्थिक प्रस्तावबारे वैशाख २४ गते मात्रै आधिकारिक जानकारी आउने बताउँदै आएको छ।
तर कसले कति आर्थिक प्रस्ताव गरेको भन्ने विवरण पनि सार्वजनिक भइसकेको छ। स्रोतका अनुसार जीसीई–अनकले भ्याटसहित १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको छ भने सिनो हाइड्रोले भ्याटसहित १३ अर्ब १४ करोड रुपैयाँ प्रस्ताव गरेको छ।
सिनो हाइड्रो कर्पोरेसनले जेसीईविरुद्ध बुधबार हालेको उजुरीमा भनिएको छ–‘जेसीई कम्पनीलाई राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) वा चीनको पारिस्थितिकी तथा वातावरण मन्त्रालयले चीन भित्र वा विदेशमा कुनै पनि जलविद्युत परियोजना सञ्चालन गर्न कहिल्यै इजाजतपत्र प्रदान गरेको छैन । ‘आयोजना सम्पन्न गरेका कागजात आवश्यक पर्नेमा जेसीईले खरिद प्रक्रियामा बुझाएका कागजातहरु जीपीएस र जीआईएस लेकेसन, फोटोग्राफीको प्रमाण जाँचयोग्य छ।’
सिनो हाइड्रोले प्राविधिक योग्यता पुर्याउनका लागि विगतका अनुभवलाई गलत तरिकाले देखाएको आरोप जेसीईविरुद्ध लगाएको छ। उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जेसीई–अनक जेभीले बुझाएका प्रमाणलाई पुनः मूल्यांकन गर्न समेत अनुरोध गरिएको छ। जेसीईले आयोजना सम्पन्न गरेको भनी देखाएका जीपीएसरजीआईएस लोकेसन, फोटोग्राफलाई परीक्षण गर्न उजुरीमा माग गरिएको छ।
खरिद प्रक्रियामा टु एमजी–फेवाले भने भ्याटसहित करिव १३ अर्ब मूल्य कबोल गरी टेण्डर हालेको स्रोत बताउँछ । हाई हिमालयसँग जेभी गरेको भारतीय कम्पनी एसआईएलले भने १२ अर्ब ४६ करोडमा टेण्डर बिड गरेको थियो ।
डोल्पामा निर्माण हुने आयोजना बनाउन २३ अर्ब लागत अनुमान गरिएको छ। जसमा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ। अहिले सिभिल र हाइड्रो मेकानिकलको मात्रै ठेक्का लागेको छ। आयोजनाबाट ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ।