काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १०० रनले पराजित गरेको छ । यो हारसँगै राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ ।
हिजोको खेलमा मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर एक बलमा ११७ रनमा अलआउट भयो ।
राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन बनाए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।
त्यसअघि जयपुरको स्वामी मानसिंह स्डेडियममा राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।
ओपनर रायन रिकल्टले ६१ रन र रोहित शर्माले ५३ रन बनाए । राजस्थानका महेश थीक्षाना र रियान परागले समान एक विकेट लिए ।
जितसँगै मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा ६ अङ्कका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।