धनगढी । धनगढीमा युवाहरूलाई लक्षित गर्दै ‘एसपीए यूथ सर्ट फिल्म कम्पिटिसन’ आयोजना हुने भएको छ । फोर्टी टेन प्रा.लिले शनिवार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो ।
प्रतियोगिताको उद्देश्य चलचित्र निर्माण, लेखन, अभिनय र प्रविधिमा रुचि भएका युवाहरूलाई क्षमता विकासको अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।
इच्छुक सहभागीहरूले अनलाइन वा भौतिक फारम निःशुल्क भरेर आवेदन दिन सक्ने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक फोर्टी टेनका डाइरेक्टर संजिव रालले सहभागीहरूले जेठ ३ गते सम्म छोटो कथा फिल्मको अवधारणा पेस गर्नुपर्ने बताए ।
विज्ञ निर्णायकहरूको समूहले सबै अवधारणाहरूको मूल्याङ्कन गर्नेछ । उत्कृष्ट १० कथा वा फिल्मको अवधारणा छनोट गरिने उनले बताए । यसैगरी दोस्रो, तेस्रो, चौथो चरण गरी मूल्याङ्कन गरिनेछ ।
पहिलो हुनेलाई एभरेस्ट फिल्म एकेडेमीमा १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति, नगद पुरस्कार ३० हजार, गिफ्ट ह्याम्पर, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कारको व्यवस्था छ ।
यस्तै, पत्रकार सम्मेलनमा बोल्दै फोर्टी टेनका सञ्चालक समीर प्रशाद भट्टले कक्षा ९ देखी ब्याचुलर अन्तिम वर्ष सम्म अध्ययनरत विद्यार्थीहरू लक्षित एसपीए यूथ सर्ट फिल्मको धनगढी ईडीसन सुदूरपश्चिममै नौलो अभ्यास भएको बताउँदै हाल सम्म टाइटल स्पन्सरका रूपमा एसपीए कलेज धनगढी, मुख्य एजुकेसन पार्टनर एभरेस्ट फिल्म एकेडेमी काठमाडौँ, ट्यालेन्ट नर्चर पार्टनर एक्टर्स हब काठमाडौँ, रिफ्रेसमेन्ट पार्टनर रुट्स एन फ्रुट्स धनगढी, लर्निङ पार्टनर एडुपल नेपाल धनगढीले साथ दिएको जानकारी दिएका छन् ।
सो अवसरमा बोल्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश महासचिव शिबराज भट्टले कार्यक्रम सुदूरपश्चिमका लागि नौलो र यहाँका कन्टेन्ट क्रियसनमा लागेका युवा ट्यानेन्टहरुको लागि सुनौलो अवसर रहेको बताए ।
त्यस्तै, लर्निङ पार्टनर एडुपल नेपालका प्रतिनिधि मोहन भट्टले पछिल्लो समय युवा पुस्ताहरू अवसर नपाएर कुलतमा फसिरहेका बेला कला क्षेत्रमा आबद्ध युवाहरू लक्षित यो कार्यक्रमले केही हद सम्म भए पनि आफूहरूलाई साबित गर्न र व्यस्त राख्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यस्तै, टाइटल स्पन्सर एसपीए कलेज धनगढीका क्याम्पस प्रमुख योगराज गौतम उपाध्यायले एसपीए कलेज सधैँ नव पर्वतपनमा विश्वास राख्दै विद्यार्थी र अभिभावकहरू को सुनौलो भविष्यको लागि खेल, प्राविधिक तथा विभिन्न सिप मूलक कार्यक्रमहरू सञ्चालन गरिराख्ने सुदूरपश्चिमको प्रविधि मैत्री कलेज भएको नाताले पनि फोर्टी टेन प्रालि ले अघि सारेको यो अवधारणमा सहकार्य गरेको बताए ।
भने यस कम्पिटीसनमा बढी भन्दा बढी विद्यार्थीहरूले आफ्नो कथा कन्सेप्टहरू प्रस्तुत गर्दै मौकाको सदुपयोग गर्न सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा आह्वान गरेका छन् ।