Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उद्योगका डीजी, बिदेश भ्रमणमै बिजी, बाणिज्यका दाहाललाई अनुगमनको चटारो

उद्योगका डीजी, बिदेश भ्रमणमै बिजी, बाणिज्यका दाहाललाई अनुगमनको चटारो

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली झन्डै तीन साताका लागि अमेरिका घुम्न निस्किएका छन् । सरकारी कार्यक्रमभन्दा निजीस्तरबाट प्रायोजित कार्यक्रमको बहानामा विदेश भ्रमणमा निस्कदैआएका ज्ञवालीको अमेरिका भ्रमण सरकारी कामकाज नामामात्रको भएको स्रोत बताउँछ ।

घुम्नेमात्र उद्देश्यले उनले नाममात्रको सरकारी कार्यक्रममा जानका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्वीकृति दिनुलाई आश्चर्यका रुपमा हेरिएको छ ।

केही समयअघि गैरआवासीय नेपालीहरुलाई निम्ता पठाउन लगाएर मन्त्री भण्डारीलाई लिएर ज्ञवाली माल्टामा गएका थिए । नेपालमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउने नाममा मन्त्रीसहित आधा दर्जनलाई सरकारी खर्चमा उनले माल्टा सयरमा लगेका थिए ।

माल्टा घुमाएको गुन तिर्न मन्त्री भण्डारीले उनलाई तीन साता अमेरिका सयरका लागि अनुमति दिएको चर्चा उद्योग मन्त्रालयमा हुने गरेको छ । उद्योग मन्त्रालयअन्तर्गतका अन्य बिभाग र कार्यालयका कर्मचारीलाई भन्दा उद्योग बिभागका महानिर्देशक ज्ञवालीलाई स्वदेश र बिदेश घुम्नका लागि मन्त्री भण्डारीले छुट दिंदैआएका छन् ।

आर्थिक बर्षको अन्ततिर आइपुग्दा लक्ष्य अनुसारको प्रगति देखाउन नसकेको बिभागको नेतृत्वलाई पटक पटक स्वदेश र बिदेश भ्रमण स्वीकृति दिने मन्त्री भण्डारी र उद्योग सचिव कृष्णबहादुर राउतको उदारताकोबारेमा मन्त्रालयभित्र पनि चर्चा हुने गरेको छ ।

उद्योग बिभागका महानिर्देशक (डीजी) विदेश मस्तीमा रहँदा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​का महानिर्देशक कुमारप्रसाद दाहाललाई भने बजार अनुगमन गर्न भ्याई नभ्याई छ । उनलाई खुलेर सहयोग गर्न नचाहने कर्मचारीहरुलाई मन्त्रालयले बिभागमा सरुवा गरेको छ ।

तर पनि उनी दैनिक बजार अनुगमन गर्दैआएका छन् । बजार अनुगमनको ज्ञानै नभएको उपसचिव जगदिश अर्याललाई अनुगमन शाखाको नेतृत्व दिन दबाब दिने मन्त्री भण्डारीको सचिवालय र सचिव राउतले दैनिक प्रगति बिबरण लिने गरेका छन् ।

उपसचिव अर्यालका बारेमा ब्यापक टिकाटिप्पणी हुँदा पनि मन्त्री भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टलाई संरक्षण गर्दैआएका छन् । उपसचिव अर्याल उपभोक्तामाथि कालोबजारी गरी ठगी गर्ने विश्वनाथ साहलाई जोगाउन अग्रसर देखिएका छन् ।

केही समयअघि बाणिज्य बिभागको टोलीले साहको चन्द्रागिरीस्थित विश्वनाथ ट्रेड हाउस प्रालि र विश्वनाथ ओभरसिज प्रालिमा छापा हानेको थियो । विश्वनाथ ट्रेड हाउस प्रालिमा छापा हानी ३ लाख जरिवाना गर्दै सच्चिन आग्रह गरेको थियो ।

बिभागको निर्देशन अटेर गरेको उजुरी परेपछि महानिर्देशक दाहालले साहका विश्वनाथ ओभरिसजसहित २ कम्पनीमा पुनः अनुगमन गर्न निर्देशन दिएका थिए ।

अनुगमन टोलीले बिभागको निर्देशन नमानेको आरोपमा कागजपत्रसहित उपस्थित हुन निर्देशन दिंदै ओभरसिजको गोदाम सिल गरेको थियो । उनै अर्यालको दबाबमा घटनालाई ढाकछोप गर्न न्यूनतम १८ हजारमात्र तिराएर सिल गरिएको गोदाम खोल्ने तयारी भइरहेको छ ।

सामान्य त्रुटीमा पसलको लगानीभन्दा बढी जरिवाना तिराउँदै आएको बिभागले करोडौंको राजस्व छली गर्ने, प्रतिबन्धित मानवस्वाथ्यका लागि घातक मानिने सिन्थेटिक जुस बनाउने धुलो र एमआरपी स्टीकर नटाँसी हल्दिराम भूजिया आयात गरी बिक्रीबितरण गर्ने ठूला कारोबारी साहलाई जतिसुकै ठूलो अपराध गरे पनि १८ हजारमात्र तिराएर उन्मुक्ति दिन उपसचिव अर्याल नै लागिपरेका छन् ।

विगतमा बिभागको डाइरेक्ट सेलिङ शाखाको निर्देशक हुँदा नै आर्थिक लेनदेनमा विवादमा परेका अर्याललाई अहिले अनुगमन शाखाले मात्र नपुगेर फर्म शाखाको समेत प्रमुखको जिम्मा दिइएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा आधा दर्जन उपसचिव बरन्डामा हाजिर गर्दै घर फर्किनेगरेका छन् । तर अर्याललाई बिभागका महत्वपूर्ण दुई दुई वटा शाखा प्रमुखको जिम्मा दिइएको छ । त्यसो हुनुमा मन्त्री भण्डारीको सचिवालय र सचिव राउतलाई अर्यालले खुसी पारेकै कारण मानिएको छ ।

बिभागको महानिर्देशक भन्दा आफूलाई शक्तिशाली ठान्ने शाखा अधिकृत विश्वराज दाहालले अहिले बजारमा देखाएका चर्तिकला बिभागभित्रै हाँसोको बिषय बन्ने गरेको छ ।

भक्तपुरतिर बसोबास गर्ने दाहाल आफूलाई बिगतमा असहयोग गर्ने ब्यवसायी र निर्वाचन आयोगदेखि अन्य कार्यालयमा रहँदा कतिपय ब्यापारीसँग भएको दुस्मनी बाणिज्यमा आएर साँध्न थालेका छन् । आफूलाई घरमा जे सामान आवश्यक पर्छ, तिनै सामानका ब्यापारीका पसल, गोदाममा छापा हान्दैआएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077