एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीविरुद्ध बिहारको दरभंगामा एफआईआर दर्ता गरिएको छ ।
अनुमतिबिना छात्रावासमा प्रवेश गरेको भन्दै जिल्ला कल्याण अधिकारी आलोक कुमारले राहुल गान्धीविरुद्ध प्रहरीमा एफआईआर दर्ता गराएका हुन् ।
बिहार कांग्रेसले मे १५ मा राज्यका विभिन्न स्थानमा शिक्षा संवाद आयोजना गरेको थियो । त्यसक्रममा कांग्रेस नेताहरूले राज्यका एससी, एसटी, ओबीसी छात्रावासका विद्यार्थीसित अन्तरक्रिया गरे ।
राहुल उक्त कार्यक्रमअन्तर्गत दरभंगाको अम्बेडकर छात्रावासमा संवाद गर्न चाहन्थे । दरभंगा प्रशासनले भने उनलाई अम्बेडकर छात्रावासको सट्टा टाउन हलमा विद्यार्थीसँग अन्तरक्रिया गर्न अनुमति दिएको थियो । तर, अनुमतिबिनै राहुल छात्रावासमा गए र विद्यार्थीलाई सम्बोधन गरेका थिए ।