काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा लेखेकै कारण पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेल हालेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले उनलाई जेल हाल्ने काम संविधानको धारा २७० विरुद्ध रहेको बताए ।
राप्रपा युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा फरक बिचार राखेकै भरमा जेल हाल्ने काम भएको उनले बताए । संसदको रोष्टमबाट प्रधानमन्त्री र गृहमन्त्रीले फरक बिचार राख्नेलाई जेल हाल्ने अभिव्यक्ति दिइरहेको भन्दै उनले नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठूलो हो भन्दै प्रश्न गरे ।
उनले भने–‘नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठूलो हो । होइन भने उहाँहरूले किन धारा २७० विरुद्ध काम गरिरहनुभएको छ ?’
उनले संविधानअनुरुप चल्न र त्यो धाराले काम गर्न अप्ठ्यारो भएको भए परिवर्तन गर्न आग्रह गरे ।