काठमाडौं । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी प्रवेशमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको प्रतिबन्धलाई अदालतले रोकेको छ।
शुक्रबार म्यासाचुसेट्सका एक संघीय न्यायाधीशले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूलाई प्रवेशमा रोक लगाउने ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रूपमा रोक लगाएका हुन्।
अमेरिकी गृह सुरक्षा विभागले विदेशी विद्यार्थीहरूले हार्वर्डबाट स्थानान्तरण गर्नुपर्ने अन्यथा उनीहरूको भिसा खतरामा पर्ने जनाएको थियो।
हार्वर्डले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।
विश्वविद्यालयलाई ७२ घण्टा भित्र बाह्य विद्यार्थीहरूको बारेमा जानकारी उपलब्ध गराउन भनिएको थियो।
शुक्रबार बिहान ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने योग्यता रद्द गरेको थियो। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले गृह सुरक्षा विभागलाई हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल लागू हुने गरी रद्द गर्न आदेश दिएकी थिइन्।
यसमा विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने योग्यता पुन: प्राप्त गर्न, हार्वर्डले ७२ घण्टा भित्र अवस्थित विदेशी विद्यार्थीहरूको विवरण प्रदान गर्नुपर्ने जनाइएको थियो।
यसका साथै विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीहरूलाई अन्य संस्थाहरूमा स्थानान्तरण गर्न भनिएको थियो। त्यसो नगरिए ती विद्यार्थीले देश छोड्नु पर्ने हुन सक्ने जनाएको थियो।
अमेरिकी सरकार र आठवटा कलेजहरू सम्मिलित आइभी लिग स्कुलबीच जारी गतिरोधको बीचमा ट्रम्प प्रशासनले बिहीबारदेखि लागू हुने गरी हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्न रोक लगाएको थियो।
अईभी लिग स्कुलअन्तर्गत हार्वर्ड, याले, युपेन, प्रिन्सटन, कोलम्बिया, ब्रोन, डार्टमाउथ र कोर्नेल छन्। यी सबै निजी क्षेत्रका कलेजहरू हुन्।
ट्रम्प प्रशासले यसअघि हार्वर्डलाई दिँदै आएको २ अर्ब डलरभन्दा बढी संघीय अनुदान कटौती गरेको थियो। हार्वर्डमा २४,५९६ विद्यार्थी क्षमता रहेकोमा प्रत्येक वर्ष ६,८०० अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्दै आएको छ।
हार्वर्डमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू यहुदी विरोधी गतिविधिमा संलग्न हुने गरेको र कतिपय अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वयमा रहेर काम गर्ने गरेको आरोप लगाउँदै ट्रम्प प्रशासनले यसलाई रोक्न हार्वर्ड प्रशासनबाट सहयोग नभएको बताउँदै आएको छ।
यता ट्रम्प प्रशासनले गरेको उक्त कदमको विरोध गर्दै हार्वर्ड विश्वविद्यालयले आईभी लिग स्कुललाई विदेशी विद्यार्थीहरू भर्ना गर्नबाट रोक्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिँदै अदालतको ढोका ढक्ढकाएको छ।
हार्वर्ड प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा रोक लगाउनुलाई ह्वाइट हाउसको गलत राजनीतिक मागहरूको अवज्ञा गरेकोमा असंवैधानिक प्रतिशोध साधेको उल्लेख गरेको छ।
स्टनको संघीय अदालतमा शुक्रबार दायर गरिएको मुद्दामा, हार्वर्डले सरकारको कार्यले पहिलो संशोधनको उल्लंघन गरेको तथा हार्वर्ड र ७,००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा तत्काल प्रभाव परेको उल्लेख गरेको छ।
हार्वर्डले आफ्नो मुद्दामा भनेको छ, ‘सरकारले हार्वर्डको विद्यार्थी निकायको एक चौथाइ भाग, विश्वविद्यालय र यसको मिसनमा महत्वपूर्ण योगदान पुर्याउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मेटाउन खोजेको छ । यसका अन्तर्राष्ट्रिय विद्यार्थीहरू बिना, हार्वर्ड नै त्यो हार्वर्ड होइन। जो अन्तर्राष्ट्रिय जगतमा चर्चित छ।’
यदि सरकारको कारबाही कायम रह्यो भने, हार्वर्डमा कम्तीमा अर्को दुई शैक्षिक वर्षसम्म नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रवेश पाउन असमर्थ हुनेछन्।
हार्वर्डका अध्यक्ष एलन गार्बरले ट्रम्प प्रशासनले लगाउँदै आरोपमा सत्यता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू समक्ष बताउँदै आएका छन्।
यस महिनाको सुरुमा भनेका थिए कि विश्वविद्यालयले विगत डेढ वर्षमा धेरै कुरामा परिवर्तन गरिएको छ, जसमा यहुदी विरोधीतासँग लड्न व्यापक रणनीति पनि समावेश रहेको छ।
हार्वर्डमा हाल १४० भन्दा बढी देशका विद्यार्थी अध्ययनरत छन्। नेपाली विद्यार्थी पनि त्यहाँ अध्ययनरत छन्। जोन हार्वर्डको नाममा सन् १६३६ मा यस विश्व विद्यालयको स्थापना भएको थियो। हार्वर्डमा ट्रम्प प्रशासनले सिर्जना गरिरहेको गतिरोध अन्य विश्व विद्यालयका लागि समेत सुखद संकेत नभएको हार्वर्डले भनेको छ।