काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
गृहमन्त्रीको राजीनामाबाट विपक्षी दलहरू टसमस नभएपछि संसद् बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो।
बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजे मात्रै बसेको थियो। चार मिनेटमात्रै बसेको बैठकमा विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि स्थगित गरेका थिए।
बैठक स्थगितको सूचना सुनाएर प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। उनले आजको बैठक सुरु हुनुअघि पनि प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
त्यस अवधिमा पनि बैठक सञ्चालनबारे दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुखले दिउँसो साढे ३ बजे बैठक बस्ने सूचना गरेका थिए।
संसद् बैठक स्थगितपछि बसेको बैठकमा विपक्षीहरूले गृहमन्त्रीको राजीनामा नै बटम लाइन भएको दोहोर्याइरहेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नै पाएन ।
बिहीबार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।