काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्यमी एलोन मस्कबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । लामो समयदेखि देखिँदै आएको मतभेद अहिले सार्वजनिक विवादमा रूपान्तरित भएको छ।
मस्ककै सहायतामा चुनाव जितेर राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्प पछिल्लो समय मस्कसँग रुष्ट बनेका छन् ।
राजनीतिमा तटस्थ रहने गरेका मस्क २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा सक्रिय रुपमा सहभागि भएपछि ट्रम्पसँगको सम्बन्ध सुरु भएको थियो ।
मस्कले निर्वाचनको समयमा आफ्नो रिपव्लिकन अभियानलाई करिव २५० मिलियन डलर आर्थिक सहयोग गरेपछि ट्रम्पले उनको प्रंशसा गर्दै डिपार्टमेन्ट अफ गभर्नमेन्ट ईफिसिएन्सी ९डोग० को सह–प्रमुख नियुक्त गरेका थिए । तर, त्यो मित्रता लामो समय टिक्न सकेन ।
मस्कले ट्रम्पको खर्च विधेयकप्रति असन्तुष्टि जनाउँदै सो विधेयकलाई गैरजिम्मेवार र राष्ट्रको दीर्घकालीन आर्थिक स्थायित्वविरूद्ध भएको आरोप लगाउँदै आएका छन् ।
त्यतिमात्रै होइन उनले विधेयकको विरोधमा सक्रिय लबिइङसमेत गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मस्कलाई संघीय खर्च नियन्त्रणका लागि प्रशासनमा जिम्मेवारी दिइएको भए तापनि सो उद्देश्यअनुसार मस्कले काम गर्न नसकेको ट्रम्पको भनाइ छ ।
यसको प्रत्युत्तरमा मस्कले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् राष्ट्रपति ट्रम्पको आलोचना गर्दै एकपछि अर्को आक्षेप लगाएका छन् । मक्सले ट्रम्पको नाम दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित अप्रकाशित कागजातहरूमा हुनसक्ने दाबी गरेपछि दुईबीचको विवाद झन् चर्किएको छ।
यस दाबीलाई अस्वीकार गर्दै ट्रम्पले मस्कलाई मानसिक रूपमा अस्थिर व्यवहार देखाएको आरोप पनि लगाएका छन् । मस्कका कम्पनीहरूसँग रहेका सरकारी ठेक्काहरू समेत पुनरावलोकन गरिने ट्रम्पको चेतावनी छ।
यस विवादको असर बजारमा प्रत्यक्ष देखिएको छ। शुक्रबार टेस्लाको शेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको र कम्पनीको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा तल झरेको जनाइएको थियो ।
अहिले ट्रम्पले आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमा लगानी गरे एलन मस्कले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
उनले सीबीसी न्युजका पत्रकारसँग फोनमा गरेको कुराकानीमा मस्कसँगको सम्बन्ध सकिएको पनि बताएका छन् ।
ट्रम्पले आफ्ना एआईडीई र सल्लाहकारसँग पछिल्लो ४८ घण्टामा मस्कको सबै गतिविधि हेर्दा उनले लागूऔषध सेवन गरेको हुन सक्ने आशय व्यक्त गरेका छन् ।
यता, मस्कले भने सामाजिक सञ्जालमा आफूले ट्रम्पको विरुद्धमा उल्लेख गरेका धेरै कुराहरू हटाएका छन् ।
उनले ट्रम्पको पद नै खतरामा परेको आशयको कुरा सञ्जालमा राखेका थिए ।
मस्कले सामाजिक सञ्जालमा आफूले सहयोग नगरेको भए ट्रम्प पराजित हुने कुरा पनि उल्लेख गरेका थिए । तर सो कुरा भने हटाएका छैनन् ।
त्यसैगरी उनले ट्रम्पले ल्याएको आयात करका कारण अमेरिकाले वर्षको उत्तरार्द्धमा धेरै आर्थिक मन्दीको सामना गर्नु पर्ने चेतावनी पनि दिएका छन् ।
ट्रम्पसँगको तनावपछि मस्कलाई थप समस्या उत्पन्न भएको छ । उनले डोग छाडे पनि उनको विरुद्धमा प्रदर्शन जारी छ ।
मस्कले नेतृत्व गरेको डोगका कारण धेरै क्षेत्रमा अमेरिकी प्रशासनले दिँदै आएको सहयोग र अनुदान रोकिएको छ ।