काठमाडौं । विलिङ प्रणालीको अनियमिततालगायतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले उनीहरूमाथि विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध ३३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियारले यो प्रकरणमा अनुसन्धानको दायरामा आएका २४ जनामाथि भने मुद्दा चलाएको छैन । मुद्दा नचल्नेमा अनुसन्धानको दायरामा आएका तत्कालीन प्रबन्ध निर्देशक तथा हालका डिएमडी डिल्लीराम अधिकारी पनि एक हुन् ।
उनी विलिङ प्रणालीको मर्मतको ठेक्का घोटालामा मात्रै मुछिएका छैनन्, श्रीमतीको नाममा विदेशमा डलरमा घुस लिएकोलगायतका प्रकरणमा पनि अख्तियारकै अनुसन्धानमा तानिएका व्यक्ति हुन् ।
तत्कालिन सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले १०औं तहमा कार्यरत रहेका बेला सिनियरहरु हुँदाहुँदै जुनियर अधिकारीलाई एमडी बनाएका थिए ।
तर, एमडीको कार्यकाल सकिएपछि पनि उनी १०औं तहमा फर्किएर काम गर्दै आइरहेका थिए । अहिले उनी ११ औं तहमा पुगेर टेलिकममै काम गरिरहेका छन् ।
अधिकारी त्यस्ता व्यक्ति हुन्, जसले घुसबापतको रकम श्रीमतीको नाममा डलरमा लिएको समेत फेला परेको थियो । अधिकारीकी पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर पठाएको भौचर फेला परेपछि उनी अख्तियारको छानविनमा तानिएका थिए ।
अख्तियारले अधिकारी र उनकी पत्नीसँग पटकपटक बयान लिइसकेको थियो ।
‘अधिकारीले टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारी सम्हाल्दा सो सम्झौता गराएका थिए । त्यसबापत मासिक रूपमा ओसन टेक्नोलोजीले उनकी पत्नी इन्दुको खातामा रकम जम्मा गरिदिने गरेको थियो ।
जापानको ओसन टेक्नोलोजी लिमिटेडसँग अन्तर्राष्ट्रिय आगमन कल (इन्टरनेसन इन्कमिङ कल) को आम्दानी बाँडफाँटमा नेपाल टेलिकमलाई कम शुल्क दिनेगरी सम्झौता गरेर अधिकारीले टेलिकमलाई घाटा पुर्याइ व्यक्तिगत लाभ लिएका थिए ।
अधिकारीले पत्नीका नाममा ओसन टेक्नोलोजी लिमिटेड जापानबाट मासिक रुपमा लिएको उक्त रकमको भौचर फेला परेपछि अख्तियारले दुबैको बैंक खाता झिकाएर छानविन गरेको थियो ।
अधिकारीले टेलिकमको इन्टरनेसनल बिजनेसको प्रमुखको जिम्मेवारी सम्हाल्दा सो सम्झौता गराएका थिए । त्यसबापत मासिक रूपमा ओसन टेक्नोलोजीले उनकी पत्नी इन्दुको खातामा रकम जम्मा गरिदिने गरेको थियो ।

यसरी उनले दुई देशबीच इन्टरनेसनल इन्कमिङ कलको आम्दानी बाँडफाँड गर्दा टेलिकमलाई करोडौं रूपैयाँ घाटा पुर्याएका थिए ।
अधिकारी सन् २०१२ देखि २०१५ सम्म टेलिकमको अन्तर्राष्ट्रिय व्यापार हेर्ने शाखाका प्रमुख रहेका बेला उक्त सम्झौता भएको थियो ।
अख्तियारले जापान मात्र नभई हङकङ, सिंगापुर र दुबईमा अधिकारी पत्नीले खाता खोलेको हुन सक्नेतर्फ पनि अनुसन्धान गरेको थियो ।
तर, एक विचौलियामार्फत अख्तियारमा सेटिङ गरी अधिकारी मुद्दा चल्नबाट जोगिएका छन् । ती विचौलिया अख्तियार प्रमुख प्रेमकुमार राई निकट रहेको स्रोतको भनाई छ ।
अख्तियारले प्रवन्ध निर्देशक पहाडीलाई मुद्दा चलाएपछि उनी स्वतः निलम्बनमा परेकी छन् । कारबाहीबाट जोगिएका अधिकारी भने नयाँ प्रवन्ध निर्देशक बन्न आजैबाट चलखेलमा लागिसकेका छन् ।
स्रोतका अनुसार अख्तियारमा उनले विलिङ प्रणालीलगायको घोटला प्रकरणको छानविनमा सुराकीको रुपमा काम गरेका थिए ।
त्यसो त टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलले भ्रष्टाचार गरेको रकम सिंगापुरमा राखेको खुलेपछि उनलाई पनि अख्तियारले पक्राउ गरी मुद्दा चलाइसकेको छ । हाल उनी कारागारमा छन् ।