काठमाडौं । चर्चित अमेरिकी र्यापर एमिनेमले मेटाविरुद्ध मुद्दा दायर गरेका छन् ।
एक दर्जनभन्दा धेरै ग्रामी अवार्ड विजेता, मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपजस्ता प्लाटफर्ममा अनुमतिबेगर आफ्ना गीतहरू प्रयोग गरेको भन्दै एमिनेमले १० करोड ९० लाख डलरभन्दा बढी क्षतिपूर्तिको माग दाबीसहित मुद्दा हालेका हुन् ।
एमिनेमको म्युजिक पब्लिसिङ कम्पनी ‘एट माइल स्टाइल’ले मे ३० मा अमेरिकी अदालतमा दायर गरेको मुद्दामा र्यापरका २ सय ४३ वटा गीत अवैध रूपमा प्रयोग गरेको आरोप लगाइएको छ ।
मुद्दामा उल्लेख भएअनुसार मेटाले आफ्नो ‘म्युजिक लाइब्रेरी’ मार्फत ती गीतहरू प्रयोगकर्तालाई उपलब्ध गराउने गरेको छ ।
त्यसलाई ‘ओरिजिनल अडियो’ र ‘रिल्स रिमिक्स’जस्ता फिचर प्रयोग गरी लाखौं भिडियोहरूमा प्रयोग गरिएका छन् ।
एमिनेमको कम्पनीले एक गीत, एक प्लाटफर्म बराबर १ लाख ५० हजार डलरसम्मको क्षतिपूर्ति माग गरेको छ ।
यसको कुल रकम १० करोड ९३ लाख ५० हजार अमेरिकी डलर पुग्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।