एजेन्सी । इरानी सशस्त्र सेनाका प्रवक्ता अबोलफज्ल शेकार्चीले इजरायलले गरेको आक्रमणको ‘गम्भीर मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।
इरानले शुक्रबार सबेरै भएको आक्रमणको इजरायलले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिएको हुन् ।
इजरायलको आक्रमणले इरानको ‘कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली ध्वस्त पार्न खोजेको पनि इरानी सेनाले जनाएको छ।
इजरायलको आक्रमण इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरेर गरिएको हो।
‘एक इरानी सैन्य अधिकारले भने, ‘यो अत्यन्तै जटिल र तहगत आक्रमण हो, र म यसलाई केवल आणविक कार्यक्रममाथिको हमला भनेर मात्र हेर्दिन ।’
आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का नेताहरू र इरानी आणविक वैज्ञानिकको हत्या गरिएको छ।
इजरायलको आक्रमणमा इरानका वरिष्ठ सैन्य कमाण्डर मारिए :
इजरायलले शुक्रबार सबेरै बिहान गरेको आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्।
शुक्रबार सबेरै इजरायलले इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो।
इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई ‘निर्णायक क्षण को संज्ञा दिएका छन्।
इजरायली आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीको मृत्यु भएको इरानको तस्निम समाचार संस्थाले उल्लेख गरेको छ।
उनीसँगै अरु केही वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिक पनि मारिएको जनाइएको छ। इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी पनि मारिएका छन्।