Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीको खरिद अख्तियारको छानविनमा, चुस्ता दिन नसक्ने ठेकेदारलाई पुनः ठेक्का

प्रहरीको खरिद अख्तियारको छानविनमा, चुस्ता दिन नसक्ने ठेकेदारलाई पुनः ठेक्का

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीको २२ करोडको खरिद प्रक्रिया विवादमा तानिएको छ ।

मिलेमतोमा लत्ताकपडालगायत बन्दोबस्तीका सामान खरिद गर्न लागिएको विषयमा प्रमाणसहित उजुरी परेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन थालेको हो ।

व्यवसायीहरू ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बिसी र श्रवण अग्रवालले सेटिङ मिलाएर टेण्डर हात पारी कमसल सामान भिडाउने तयारी गरिएको उजुरीमा उल्लेख छ ।

त्यतिमात्रै होइन, प्रहरीमा एउटा र गुणस्तर तथा नापतौल विभागमा अर्को नमुना पठाएर जाँच गरी खरिदमा घोटाला हुन लागिएको दाबी समेत उजुरीमा गरिएको छ ।

प्रहरीको प्रवन्ध निर्देशनालयले गत २९ चैतमा ६ हजार थान क्वायर म्याट्रेस, २० हजार रुकस्याक झोला, २५ हजार सस्पेन्सन बेल्ट, २५ सय ज्याकेट, पाँच सय ५० ब्यान्ड ड्रेस सेट, स्मल मेसिनरी आइटम र डिजिटल फरेन्सिक इक्विपमेन्ट १–१ वटा खरिदको टेण्डर निकालेको थियो ।

यी सामानको २२ करोडमा ठेक्कामध्ये करिब १८ करोडको ठेक्का मिलेमतोमा हुन लागेको दाबी गरिएको छ ।

ठेकदार ज्ञानेन्द्र बस्नेतको समूहले यो वर्ष मात्र प्रहरीमा ६८ करोड रुपैयाँ बराबरको ठेक्का हात पारिसकेको छ । ती सबै ठेक्का प्रबन्ध निर्देशनालयसँगको मिलेमतोमा भएको स्रोत बताउँछ ।

२२ करोडको ठेक्का पनि उनीहरुलाई मात्र दिने गरी अन्य कम्पनीलाई नियोजित रुपमा प्राविधिक मूल्याङ्कनमै फेल गरिएको थियो ।

यस विषयमा सार्वजनिक खरिद पुनरावलोकन समितिमा पनि उजुरी परेपछि अवकाशको मुखमा सचिव मोहनकृष्ण सापकोटाले ठेकदारकै पक्षमा विवादास्पद फैसला गरेका थिए ।

उनले मूल विषयमा प्रवेश नगरी प्रक्रिया पूरा नगरी उजुरी दिएको भन्दै त्यसलाई खारेज गरिदिएका थिए ।

रमाइलो के छ भने टेण्डर स्वीकृत नहुँदै बस्नेतले २५ हजार थान सस्पेन्सन बेल्ट भण्डार शाखामा बुझाइसकेका छन् ।

यस विषयमा अख्तियारले छापा हान्ने हो भने सेटिङ प्रष्ट हुने प्रहरी अधिकारी बताउँछन् ।

म्याट्रेस खरिदको ठेक्कामा त नमुना नै हेरफेर गरिएको छ । ठेक्का पाउन लागेका ज्ञानेन्द्र बस्नेतको कम्पनी जय सलिना इन्टरप्राइजेज प्रालि र कोहिनुर टेक्सटाइ इन्ड्रिस्टिज, अभिग्न ट्रेड एण्ड सप्लायर्स र अल्बेरो मल्टी ट्रेडिङ कम्पनीले ठेक्कामा सेटिङ गर्न लागेका हुन् ।

अख्तियारमा गरिएको उजुरीमा म्याट्रेसको गुणस्तर परीक्षण कहाँ–कहाँ गरिएको हो ? रिपोर्ट मगाएर अनुसन्धान गर्न माग गरिएको छ ।

ती कम्पनीले गुणस्तर विभागमा पेश गरेको म्याट्रेसको नमुनामा डल्फिनको चित्र अंकित गोलाकार बुट्टा छ भने प्रहरीमा बुझाएको नमुनामा चुच्चे पहाडको बुट्टा अंकित चित्र छ ।

दुवै नमुना मगाएर अख्तियारले छानविन गर्दा धेरै प्रहरी अधिकारी यसमा तानिने जोखिम छ । जसकारण प्रबन्ध निर्देशनालयमा यतीबेला खैलाबैला मच्चिएको छ । टेण्डर रद्द नगरेमा धेरै प्रहरी अधिकारी अख्तियार धाउनुपर्ने अवस्था देखिएको छ ।

पहिला पनि गोलमाल
चालु आर्थिक वर्षमा ज्ञानेन्द्र बस्नेतले ४८ हजार थान चुस्ताका लागि २२ करोडको ठेक्का हत्याएका थिए । उनले कार्तिक अन्तिममा नेपाल प्रहरीसँग सम्झौता गरेका थिए ।

सामान्यतयाः सम्झौता भएको तीन महिनाभित्र सामान बुझाउनुपर्ने हुन्छ । तर, बस्नेतले छ महिनाको समय दिएर पनि चुस्ता बुझाउन नसकेपछि पुनः अर्को तीन महिना म्याद थप गरिएको थियो ।

थपिएको तीन महिनामा पनि सामान बुझाउन नसकेका बस्नेत अहिले अर्को ठेक्का हत्याउने दाउमा छन् । छ महिनासम्म पनि सामान बुझाउन नसकेको बस्नेतको कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुको साटो प्रवन्ध निर्देशनालयमा रहेका प्रहरी अधिकारीहरु उनैलाई अर्को ठेक्का दिलाउन तल्लिन छन् ।

समयसिमामा सामान बुझाउन नसकेको बस्तेको कम्पनीको बैंक ज्ञारेन्टी जफत गरी अहिलेसम्मको ६६ लाख हर्जाना तिराएर कालोसूचीमा राख्ने प्रकृया अगाडि बढाउनु पर्नेमा प्रहरीले उल्टै ठेक्का दिलाएर पुरस्कृत गर्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077