काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डमा जारी त्रीदेशीय-२० शृंखलाअन्तर्गत बिहीबार भएको खेलमा निर्धारित ओभरको खेलमा नेदरल्यान्ड्सले ७ विकेट गुमाएर १७४ रन बनाएको हो ।
तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सका ओपनर ब्याटर माइकल लेभिटको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नेपाललाई सम्मानजनक लक्ष्य दिएको हो । माइकल लेभिटले सर्वाधिक ८६ रनको पारी खेले । उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
अर्का ओपनर ब्याटर विक्रमजित सिंह डकआउट भए । त्यसपछिका चार वटा ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सकिब जुलफिकरले १४ रन, रोइलोफ भान मेर्वी ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे ।
नेपालका लागि करण केसीले सर्वाधिक २ विकेट लिए । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान १-१ विकेट लिए।