काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आजदेखि मलेसियामा शुरु हुँदैछ ।
उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग खेल्दैछ । यो खेल बिहान पौने ८ बजे शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ ।
नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला तथा अन्य खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही रहेका छन्। नेपाली टोलीको प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द रहेका छन्।
१६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।
यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ ।
समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।