एजेन्सी । कतारको विदेश मन्त्रालयले कतारस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको मिसाइल आक्रमणप्रति कडा विरोध जनाएको छ।
मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै इरानी आक्रमणलाई कतारको सार्वभौमसत्ता, हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन भनेका छन्।
उनले भने, “कतारको हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई सफलतापूर्वक विफल पारेको छ र इरानी क्षेप्यास्त्रहरूलाई रोक्न सफल भएको छ।”
प्रवक्ताका अनुसार, दोहास्थित अल उदेइद एयर बेस पहिले नै खाली गराइएको थियो, जसका कारण मानवीय क्षति हुन पाएन। “यस आक्रमणमा कोही पनि मारिएको वा घाइते भएको छैन,” उनले प्रष्ट पारे।
कतारले यो आक्रमणको प्रकृति र प्रभावअनुसार उचित जवाफ दिने अधिकार सुरक्षित राख्ने चेतावनी पनि दिएको छ । यसअघि राजधानी दोहामा विस्फोटको ठूलो आवाज सुनिएको थियो, जसले आम नागरिकमा त्रास फैलाएको थियो ।
इधर, इरानको सरकारी नजिकको समाचार संस्था तस्निमले रिभोलुसनरी गार्डले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको पुष्टि गरेको छ।