एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग अहिलेसम्म कुनै औपचारिक युद्धविराम सम्झौता नभएको स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धविरामको घोषणा गरेको केही घण्टामै अराघचीले यस्तो प्रष्टिकरण दिएका हुन् ।
उनले भने, “यदि इजरायलले तेहरान समय अनुसार बिहान ४ बजेसम्म इरानीमाथि आफ्नो अवैध आक्रमण रोकेको खण्डमा, इरानले बदला लिने कारबाही जारी राख्ने छैन।” तर उनले इजरायलले आफ्नो सैन्य गतिविधि रोक्ने अन्तिम निर्णय पछि लिने बताए।
यसअघि मंगलबार बिहान ३ः३० बजे अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धविराम घोषणा गरेका थिए ।
तर इरानले ट्रम्पको घोषणालाई औपचारिक सम्झौता नभएको भन्दै अस्वीकार गरेपछि युद्धविरामको विश्वसनीयता नै विवादित बनेको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार इजरायली सेनाका प्रवक्ताले युद्धविरामबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
युद्धविराम घोषणा हुनुअघि मात्र इरानले कतारस्थित अमेरिकी अल–उदेइद हवाई सैन्य अड्डामा १९ वटा मिसाइल प्रहार गरेको थियो ।