काठमाडौं । अमेरिकाले आफूले गरेको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट भएको दावी गरेपछि उक्त दावीमा सत्यता नभएको खुलेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएका छन्् ।
अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ ।
अमेरिकी गुप्तचर निकाय डिफेन्स इन्टेलिजेन्स एजेन्सीले गरेको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार इरानको परमाणु परियोजनाहरू सम्पूर्ण रूपमा ध्वस्त नभएको खुलेको हो।
पेन्टागनका तीन जना गुप्तचर अधिकारीहरूलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले क्षतिको प्रारम्भिक मूल्यांकन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथको दाबी विपरित रहेको समाचार लेखेको छ।
ट्रम्पले अमेरिकी हमलाबाट इरानको परमाणु कार्यक्रम कामै नलाग्ने गरी ध्वस्त भएको दाबी गरेका थिए।
रक्षामन्त्री पिट हेगसेथले पनि इरानको परमाणु भट्टिहरू पूर्ण ध्वस्त भएको बताउँदै आएका छन्।
अमेरिकाले आक्रमणपछि सार्वजनिक गरेको स्याटेलाइट तस्वीरहरूमा फोर्दो साइटमा दुई स्थान नजिक ६ वटा गहिरा खाडलहरु देखिन्छन्, तर भित्री भाग कति नष्ट भयो भन्ने खुलस्त छैन ।
यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका तीनवटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए ।
तर, डिफेन्स इन्टेलिजेन्स एजेन्सीका एकजना गुप्तचरले इरानले परमाणु कार्यक्रम जमिनको धेरै मुनी चलाएका कारण थोरै मात्रै क्षति पुगेको बताएका छन्।
अमेरिकी मिडिया सिएनएनले पनि गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै त्यसरी जमिनमुनि चलाइएका परमाणु कार्यक्रमहरू अमेरिकी आक्रमणबाट नष्ट नभएको बरू आंशिक क्षति पुगेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनमा उल्लेख रहेको बताएको छ।
प्रतिवेदनबारे जानकार एक स्रोतले हमलाले फर्दोको भूमिगत सुविधाको प्रवेशद्वार बन्द गरेको तर भित्री संरचना र युरेनियम भण्डारमा ठूलो क्षति नभएको भनेका छन्।
रोयटर्सले अमेरिकाको हमलाअघि नै युरेनियम र महत्त्वपूर्ण उपकरणहरू आणविक केन्द्रबाट हटाइसकेको भनेर पेन्टागनकै एकजना गुप्तचर अधिकारीलाई उद्धृत गरेर समाचार लेखेको छ।
अझै स्वीकारदैनन् डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका परमाणु केन्द्रमा गरिएको आक्रमणलाई इतिहासकै सबैभन्दा सफल भनेका छन् । साथै उनले इरानका परमाणु केन्द्रमा क्षति नपुगेको भन्ने समाचारलाई ‘फेक न्यूज’को संज्ञा दिएका छन् ।
ट्रम्पले ‘ट्रुथ सोशल’मा लेखेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्स फेक न्यूज फैलाइरहेका छन् । इतिहासकै सबैभन्दा सफल सैन्य आक्रमणलाई दुवैले बदनाम गर्न खोजिरहेका छन् । इरानका परमाणु केन्द्र पूर्णतस् ध्वस्त पारिएका छन् । जनता दुबै संस्थालाई कडा जवाफ दिइरहेका छन् ।’
ट्रम्पले यस प्रसंगमा मध्यपूर्वका विशेष दूत स्टिभ विट्कोफको फक्स न्यूजसँगको अन्तर्वार्ताको भिडियो सेयर गर्दै लेखेका छन्–‘हामीले फोर्दो केन्द्रमा १२ वटा बंकर–बस्टर बम हानेका थियौं । बमले सुरक्षा तह भेदीसकेका थिए र त्यो केन्द्र सम्पूर्ण रूपमा ध्वस्त भएकोमा कुनै शंका छैन । त्यसैले हाम्रो उद्देश्य पूरा नभएको भनी आउने रिपोर्टहरू पूर्णतस् आधारहीन छन् ।’
फक्स न्यूजसँगको अन्तर्वार्तामा विट्कोफले भने गोप्य रिपोर्ट सार्वजनिक हुनुलाई ‘देशद्रोह’को संज्ञा दिएका छन् । उनले भनेका छन्–‘यो अपमानजनक छ, यो देशद्रोह हो र यसको अनुसन्धान हुनु जरुरी छ । यसमा जो जिम्मेवार छ, त्यसलाई कारबाही गरिनुपर्छ ।’