एजेन्सी । भारतका शुभांशु शुक्लासहित चार अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उडेका छन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बोकेको एक्सियम–४ मिसन बुधबार भारतीय समय अनुसार दिउँसो १२ बजे प्रक्षेपण गरिएको हो ।
नासाका अनुसार शुभान्शु शुक्लासँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जानेमा पोल्याण्डका स्लाभोज अजनान्स्की विस्निव्स्की, हंगेरीका टिबोर क्यापु र अमेरिकाकी पेगी ह्विटसन छन् ।
अन्तरिक्ष यात्रीहरू त्यहाँ दुई हप्ता बस्नेछन्। प्राविधिक त्रुटि र अन्य समस्याका कारण यो मिसन पहिले धेरै पटक स्थगित गरिएको थियो।
एक्सियम–४ मिसन एक व्यावसायिक अन्तरिक्ष उडान हो । ह्युस्टनमा आधारित कम्पनी एक्सियम स्पेसले यो मिसन सञ्चालन गरिरहेको छ । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्लासहित सम्पूर्ण अन्तरिक्ष यात्रीहरूको सफलताको कामना समेत गरेका छन् ।