काठमाडौं । गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको बताएकी छन् ।
शनिबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दे एक स्टाटस लेखेकी समीक्षाले महेश बस्नेत कुनै घटनाबाट आफूलाई चोख्याउन चरित्र हत्या गरेको आरोप लगाएकी हुन् ।
उनले लेखेकी छन्, ‘ सम्माननीय प्रधानमन्त्रीज्यू, । हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु।
उनले जनताको अदालत भन्दा ठूलो केही नभएको उल्लेख गर्दै उनले आफूलाई र आफ्नी डाक्टर छोरीलाई एकै ठाउँमा राखेर सोच्न बस्नेतलाई आग्रह गरेकी छन् ।
यसअघि प्रधानमन्त्री ओली समिक्षा र एलिना चौहानलाई साहसी छोरीहरु भन्दै प्रशंसा गरेका थिए ।
यता नेता बस्नेतले आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै बताए । सोही बिषयमा लेख्दा केही सन्दर्भहरू जोडिएको उनको भनाइ छ ।
उनले भने, 'कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले थिबिल्कुल होइन । कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन । तर समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै, यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुजेर मैले स्टाटसलाई केही संशोधन गरेको छु।'