काठमाडौं । ऐतिहासिक खेलमा नेपालले लाओसलाई पराजित गरेको छ ।
एएफसी एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा उज्वेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो गोल अन्तरले हराएको हो ।
नेपाललाई जित दिलाउन कप्तान सावित्रा भण्डारी (साम्बा) एक्लैले चार गोल गरिन् । यस्तै, अनिता बस्नेत, सरु लिम्बू, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल थपे । नेपालले अर्को एक गोल भने लाओसबाट आत्मघाती उपहार पाएको थियो ।
छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ ।
यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ । छनोटबाट समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउने छ ।