Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टेलिकमको विलिङ ठेक्कामा पुनः चिनियाँ कम्पनीको प्रवेश, अमेरिकी र यूरोपियन कम्पनीलाई निषेध

टेलिकमको विलिङ ठेक्कामा पुनः चिनियाँ कम्पनीको प्रवेश, अमेरिकी र यूरोपियन कम्पनीलाई निषेध

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीको नयाँ खरिद प्रक्रियामा पनि अनियमितता र पूर्वमिलेमतोको गन्ध बाहिर आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा खेपेकी पूर्व प्रवन्ध निर्देशक संगीता पहाडी र हालका उपप्रवन्ध निर्देशक डिल्लीराम अधिकारीकै मिलेमतोमा नयाँ बिलिङ ठेक्कामा चिनियाँ कम्पनीलाई नै पुनः प्रवेश गराउन खोजिएको छ । यसका लागि चिनियाँ एजेन्टहरुको टेलिकममा चलखेल बढेको छ ।

टेण्डर प्रक्रियामा प्रारम्भदेखि नै सीमित कम्पनीलाई मात्र प्रतिस्पर्धामा सहभागी गराउने नियोजित प्रयास गरिएको पहाडी र अधिकारीमाथि आरोप लागेको छ । त्यस्तै, कस्टुमर रिलेसनसीप(सीआरबीटी) खरिद प्रक्रियामा पनि मिलेमतो रहेको खुल्दैछ ।

टेलिकमले बिलिङ प्रणाली खरिदका लागि तयार पारेको टेण्डर दस्तावेज यति विवादास्पद बनाइएको छ कि चीनको हुवावे र जेटीई कम्पनीहरुको मात्र योग्यता हुनेगरी प्राविधिक मापदण्ड निर्धारण गरिएको छ । अख्तियारले मुद्दा चलाउनुअघि पहाडीले अधिकारीसँग मिलेर चिनियाँ कम्पनीलाई मात्र मिल्नेगरी प्राविधिक मापदण्ड बनाएकी थिइन् ।

अहिले पहाडीकै मिलेमतोमा बनाइएको मापदण्डलाई पास गराउन अधिकारीले एकाएक सक्रियता बढाएसँगै टेलिकममा चिनियाँ कम्पनीको चलखेल बढेको टेलिकमकै एक उच्च अधिकारी दावी गर्छन् ।

अख्तियारको भ्रष्टाचार मुद्दा खेपेकी पहाडीले नै बनाएको मापदण्डलाई अहिले स्वीकृत गरेर ठेक्कामा अनियमितता गर्न खोजिएको हुँदा आयोगले टेण्डर प्रक्रियामा गहन अनुसन्धान गरी नयाँ प्रक्रिया थाल्न अबिलम्ब निर्देशन दिनुपर्ने बिलिङ प्रणालीको मूल्यांकन समितिमा रहेका एक अधिकारी बताउँछन् ।

अधिकारीकै मिलेमतोमा फेजआउट भइसकेको गार्टनर क्राइटेरीया जस्तो विशिष्ट सर्त समावेश गरी बाँकी सम्भावित प्रतिस्पर्धीहरुलाई स्वतः अयोग्य बनाउने रणनीति अपनाइएको थियो, जुन अहिले प्रमाणित हुँदैछ । विलिङ प्रणालीको नयाँ ठेक्कामा अमेरिकी र केही यूरोपियन कम्पनीहरुले पनि भाग लिन खोजेका थिए ।

तर, सुरुमै उनीहरुलाई बञ्चित गराइएपछि हुवावे र जेटीईको ३५ प्रतिशत लगानी रहेको ह्वेल क्लाउड मात्र प्रतिस्पर्धामा छनौट भएका छन् । हुवावेका नेपाली एजेन्ट रुपक प्रधान हुन् भने ह्वेल क्लाउडका प्रतिनिधि लोकेन्द्र कार्की हुन् । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भाइसमेत रहेका लोकेन्द्रकै कम्पनीलाई टेलिकमले हालैमात्र झण्डै ३५ करोड रकम बराबरको माइक्रोवेभको ठेक्का दिएको छ ।

यो ठेक्काको सेटिङ मिलाउने काम भने संगीता पहाडीका श्रीमान विश्वबन्धु पहाडीले गरेको बताइएको छ । हुवावे र ह्वेल क्लाउडमध्ये एक कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्तावमा पास गराई ठेक्का दिलाउन उपनिर्देशक अधिकारी नै सक्रिय भएर लागिरहेको टेलिकम स्रोतले बताएको छ ।

टेलिकमले हाल प्रयोगमा रहेको र सफलतापूर्वक काम गरिरहेको चिनियाँ कम्पनी एशिया इन्फो नै अख्तियारको कारबाहीमा परेपछि बिलिङ प्रणालीको नयाँ टेन्डरमा एशिया इन्फो सहभागी हुनबाट बञ्चित भएको छ । पुनः चिनियाँ कम्पनीलाई नै बिलिङ प्रणालीको ठेक्का दिलाउन सम्पूर्ण प्रक्रिया तयार पार्ने र कार्यान्वयन गराउने काममा तत्कालीन प्रवन्ध निर्देशक पहाडी र हालका उपप्रबन्ध निर्देशक अधिकारीको प्रत्यक्ष संलग्नता रहेको स्रोत बताउँछ ।

यसअघि डिल्लीराम अधिकारीकै कार्यकालमा खरिद गरिएको फोरजी सानो–सेल (Small cell) कम्पोनेन्ट आजसम्म हुवावेले आपूर्ति गर्नसकेको छैन । यति हुँदाहुँदै पनि हुवावेको प्रतिनिधि कम्पनी चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेशनल (सीसीएसआई) लाई ‘सर्भिस पर्फमेन्स सर्टिफिकेट’ प्रदान गरी फोरजी परियोजना जबर्जस्ती बन्द गराउने खेलमा अधिकारीलगायतका चिनियाँ एजेन्टहरु सक्रिय भएर लागेका छन् ।

अख्तियारले बिलिङ प्रणालीको घोटालामा पहाडीसहित १८ जनाविरुद्ध जनही ३३ करोड विगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरे पनि यस्ता प्रकरणमा मुछिदै आएका डिल्ली अधिकारीलाई भने रहस्यमय रुपमा उन्मुक्ति दिइएको छ ।

श्रीमतीकै नाममा डलरमा घुस बुझेको प्रमाण फेला पार्दा समेत अख्तियारले अधिकारीमाथि अझै कारबाही नगर्दा ठूला ठेक्काहरुमा उनले प्रत्यक्ष रुपमा स्वार्थ देखाएको टेलिकम स्रोत थप बताउँछ ।

श्रीमतीको नाममा डलरमा घुस बुझ्ने अधिकारीलाई अख्तियारले मुद्दा नै दर्ता गरेन श्रीमतीको नाममा डलरमा घुस बुझ्ने अधिकारीलाई अख्तियारले मुद्दा नै दर्ता गरेन

एकपछि अर्को गर्दै बिलिङ प्रणाली, फोरजी परियोजना र आउँदो फाइभजी विस्तार परियोजनासम्म एउटै चिनियाँ कम्पनीलाई लाभ दिनेगरी दस्तावेज बनाउने कार्यले टेलिकमको आन्तरिक नियतप्रति गम्भीर प्रश्न उठेको छ । ‘टेलिकम जस्तो राष्ट्रिय संस्थामा सार्वजनिक प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्ने बेलामा यस्तो पूर्वनियोजित मिलेमतोले दूरसञ्चार क्षेत्रको पारदर्शीतामा गम्भीर आँच पुगेको छ ।’ एक विज्ञले बताए ।

अबको बिलिङ प्रणाली परियोजनामा एकपटक फेरि यदि चिनियाँ कम्पनी हुवावे/जेभीलाई प्रदान गरियो भने फाइभजी विस्तारको भविष्य पनि स्पष्टरूपमा पूर्वनिर्धारित देखिन्छ । जहाँ अन्य सक्षम कम्पनीहरुले सहभागिता जनाउनै सक्दैनन् । यो निर्णयमा अख्तियारलगायत सम्बन्धित नियामक निकायहरुले छानबिन थाल्नुपर्ने टेलिकमकै अधिकारीहरु बताउँछन् ।

अन्य कम्पनीलाई प्रतिस्पर्धामै आउन नदिई मिलेमतोमा चिनियाँ कम्पनीलाई झण्डै ६ अर्ब बराबरको बिलिङ प्रणालीको ठेक्का दिन लागिएको बारेमा टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरसँग अनलाइन नेपालले प्रतिक्रिया माग्दा उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

चिनियाँ कम्पनीलाई ठेक्का दिलाउन पहाडीसँग मिलेर साँठगाँठ गरेको आरोप लागेका उपप्रवन्ध निर्देशक अधिकारीसँग प्रतिक्रियाका लागि बारम्बार प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

टेलिकम स्रोतका अनुसार पहाडीका श्रीमान तथा नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडीले टेलिकमका ठूला ठेक्काहरुमा चिनियाँ कम्पनीका प्रतिनिधिसँग डिल गरिरहेको सूचना अख्तियारमा पुगेपछि उनी पनि छानबिनमा तानिने अवस्था देखिएको अख्तियार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077