काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।
रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् । मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् ।
सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् ।
हस्ताक्षरलगत्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् ।
उनले भनिन्–‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’
रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले ‘डेफिनेट्ली’ भन्दै जवाफ फर्काएकी थिइन् ।