काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति फेरि औपचारिक रूपमा राजनीतिमा सक्रियता जनाउनु देशमा हाम्रो शिशु संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनकालागि गम्भीर विषय भएको बताएका छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको राजनीतिक सक्रियता राष्ट्रिय हित, गणतन्त्रको मर्म र शासकीय प्रणालीको चरित्रसँग गहिरो रूपमा जोडिने बताएका हुन् ।
उनले लेका छन्, “पूर्व राष्ट्रपतिको दलगत सक्रियता केवल पार्टीगत लाभहानिको विषय होइन, यो देशको राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको मर्म, हाम्रो शासकीय चरित्र र नेपालका कम्युनिष्ट पार्टीहरूको वैचारिक प्रतिबद्धता सबैसँग गहिरो रूपमा गाँसिएको सार्वजनिक महत्वको विषय हो।”
डा. भट्टराईका अनुसार नेपालको संविधान र विद्यमान कानूनमा पूर्व राष्ट्रपतिको राजनीतिक सहभागिता प्रतिबन्ध गरिएको छैन। तर कानूनी मौनताका बाबजुद, पूर्व राष्ट्रपतिको सार्वजनिक आचरण, नैतिक जिम्मेवारी र राष्ट्रप्रमुख पदप्रतिको सम्मानले समाजमा ‘नजीर’ स्थापित गर्ने भएकाले यो मुद्दा कानूनीभन्दा बढी नैतिक, राजनीतिक र राष्ट्रिय हितसँग गाँसिएको छ।
“कतिपय कानुनले नबोलेका विषयमा नैतिक मूल्यमान्यता, सार्वजनिक हित र अन्तर्राष्ट्रिय अभ्यास निर्णायक मानिन्छ,” भट्टराईले औंल्याएका छन्। उनका अनुसार, अहिलेको व्यवहारले नेपालको प्रारम्भिक गणतान्त्रिक अभ्यासमा दीर्घकालीन प्रभाव पार्नेछ।
नेपालले वंशानुगत राजतन्त्रलाई विस्थापित गर्दै लोकतान्त्रिक गणतन्त्रको अभ्यास थालनी गरेको सन्दर्भमा प्रारम्भिक राष्ट्रपतिहरूले कायम गर्ने परम्परा राष्ट्रको राजनीतिक संस्कार निर्माणमा अत्यन्त महत्त्वपूर्ण हुने भट्टराईको तर्क छ।
“संविधानले राष्ट्रपतिलाई सम्पूर्ण देश, जनता र राजनीतिक दलहरूको अभिभावकको रूपमा परिकल्पना गरेको छ,” भट्टराईले भने, “त्यसैले पूर्व राष्ट्रपतिको सक्रियता दलगत सीमाभन्दा माथि उठ्न जरुरी छ।”