Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

ललिता निवास काण्डका छानविनका संयोजक त्रिताल नै रविको पक्षमा

ललिता निवास काण्डका छानविनका संयोजक त्रिताल नै रविको पक्षमा

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणको जाँचबुझ समितिका संयोजक पूर्वसचिव शारदाप्रसाद त्रिताल पनि सहकारी काण्डमा जेल जीवन विताइरहेका रवि लामिछानेको पक्षमा उभिएका छन् ।

त्रिविको जग्गा हिनामिनाको प्रकरणमा गठन भएको जाँजबुझ समितिको पनि संयोजक रहेको पूर्व सचिव त्रितालले पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेको पक्षमा भइरहेको ऐक्यबद्धता अभियानमा हस्ताक्षर गरेका हुन्।

लामिछानेमाथि राज्यले ज्यादती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चलाएको हस्ताक्षर अभियानमा उनले ऐक्यबद्धता जनाएको रास्वपाका सांसद गणेश पराजुलीले बताए ।

पराजुलीका अनुसार केही दिनअघि त्रितालले अभियानमा हस्ताक्षर गरेका हुन्। अस्वस्थ रहेका पूर्वसचिव त्रितालले घरमै बोलाएर लामिछानेको पक्षमा हस्ताक्षर गरी ऐक्यबद्धता जनाएको पराजुलीले बताए।

हस्ताक्षर अभियानमा सहभागी हुँदै पूर्वसचिव त्रितालले जनप्रिय नेताहरूलाई यसरी खेद्न थालियो भने जनता विद्रोहमा जान पनि बाध्य हुन सक्छन् भन्दै प्रतिक्रिया जनाएको पनि पराजुलीले दावी गरेका छन् ।

लामिछानेको पक्षमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वन्यायाधीश बलराम केसी, पूर्वडिआइजी सुरेन्द्र पाल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र मधेश प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पनि हस्ताक्षर गरेका छन्।

कलाकारहरू मनीषा कोइराला, विपिन कार्की, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, रेजिना उप्रेती, राजाराम अधिकारी, दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, खेम सेञ्जुरीलगायतले पनि हस्ताक्षर गरेका छन्।

भैरहवा कारागारमा रहेका लामिछानेले गत महिना आफ्नो पक्षमा हस्ताक्षर गरेर सहयोग गरिदिनु भन्दै कारागारबाटै आह्वान गरेका थिए।

रास्वपाका अनुसार लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ ।

गत बिहीबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै चलाएको अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको थियो ।

७ असारबाट सुरु भएको अभियान अब गाउँतहसम्मै पुर्‍याउने रास्वपा नेता दीपक बोहराले जानकारी दिए । उनका अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा चलेको हस्ताक्षर अभियान साउन ५ गतेबाट जनस्तरसम्म पुर्‍याउन घरदैलो अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ ।

हस्ताक्षरका अभियानका लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग प्राप्त भएको रास्वपाले जनाएको छ । यस अवधिमा ५९ लाख ६७ खर्च भएको भन्दै पार्टीले घाटा व्यहोरिरहेको नेता बोहराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077