काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर भेट गरेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् ।
नेता कोइरालाले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा छलफलका लागि बोलाएका हुन् ।
संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे ।
पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तिव्र पारेका छन् ।
कोइरालाले आइतबार बिहान र दिउँसो समूह(समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन्।
केपी शर्मा ओली नेतृत्वको संघीय सरकारको कामकारबाहीप्रति कोइराला सन्तुष्ट छैनन्।
ओली नेतृत्वको सरकारमा कोइरालाले आफू पक्षबाट ४ जना मन्त्री पठाएका थिए।
कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा सामेल कांग्रेसका मन्त्रीहरूका कामकारबाहीप्रति पनि गुनासा उठेका छन्।
कोइरालाले आफूले पठाएका मन्त्री फिर्ता बोलाउने सम्भावना रहेको स्रोत बताउँछ ।
साथै पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा केन्द्रीय अनुशासन समितिले १८ जना नेता कार्यकर्तामाथि अनुशासन कारबाही गरेको भन्दै उक्त अनुशासन कारबाही फिर्ताका लागि दबाब दिन सांसदहरूले सामूहिक राजीनामा दिनेसम्मको प्रसंग पनि छलफलमा उठेको बताइएको छ ।