काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।
महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानून विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् ।
रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल गरेका छन् ।
महामन्त्री बुर्लाकोटीसहित कानून विभागका सदस्यहरूले आइतबार आयोग पुगेर अध्यावधि ढिलाइ भएकोप्रति चासो व्यक्त गरेका हुन् ।
यस विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कागजात अध्ययनकै क्रममा रहेकाले अध्यावधि गर्न ढिलाइ भएको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए ।
उनले भने–‘पदाधिकारी हेरफेरसम्बन्धी निर्णय अध्यावधिमा भएको ढिलाइप्रति निर्वाचन आयोगका पदाधिकारीसँग कानून विभाग सदस्यहरू र मैले छलफल गर्यौं। कागजात नपुगेको भए भन्नोस् भन्दा उहाँहरूले अध्ययन गर्दैछौँ भन्नुहुन्छ । छिट्टो अध्यावधि गर्नोस् भनेका छौं ।’
असार ७ गते रास्वपाले बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता बनाउने निर्णय गरेको थियो । तर, पार्टीको निर्णयलाई चुनौती दिँदै पूर्व महामन्त्री डा.मुकुल ढकालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
उनले आफू नै रास्वपाको महामन्त्री रहेको दाबी गर्दै आएका छन् ।