काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको दाबी गरेका छन् ।
कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज यहाँ बिपी स्मृति अस्पताल, बिपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा आयोजना गरेको ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तर्क्रियामा उनले यस्तो दाबी गरेका हुन् ।
उनले बिपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताए । सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे ।
'वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आजपनि उत्तिकै सान्दर्भिक छ,' उनले भने ।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाइ छ ।