Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेसका शिर्ष नेताहरु एमालेसँग रुष्ट, भने–गठबन्धनमा दरार आउनसक्छ

कांग्रेसका शिर्ष नेताहरु एमालेसँग रुष्ट, भने–गठबन्धनमा दरार आउनसक्छ

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडका सन्दर्भमा नेकपा एमालेले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेर गठबन्धनको सरकारलाई नै अप्ठेरोमा पार्न खोजेको बताए ।

मंगलबार बसुन्धरामा आयोजित ४३ औं विपी स्मृति गोष्ठीमा उनले एमाले सांसदहरुले संशोधन प्रस्ताव राखेर दुर्घटनातर्फ लगे दुई दलबीच समझदारीमा दरार आउने बताएका हुन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिक र कूटनीतिक नियुक्ति गर्न नमिल्ने गरी कुलिङ पिरियड राख्ने सहमति भएको थियो।

यो व्यवस्था निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने क्रममा हेरफेर भएको बाहिरिएपछि छानबिन समिति गठन भएर काम अघि बढेको छ।

कुलिङ पिरियड दुई वर्ष राख्ने पूर्वसहमतिअनुसार राष्ट्रिय सभाबाट निजामती सेवा विधेयकमा राख्न राज्य व्यवस्था तथा सुशासन समितिले आग्रहसमेत गरेको थियो।

तर राष्ट्रिय सभामा एमालेका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएपछि कांग्रेस तरंगित भएको छ।

महामन्त्री शर्माले भने–‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ। सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रूपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ। हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रूपमा संशोधन प्रस्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुई वटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ।’

महामन्त्री शर्मासहित नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् ।

मंगलबार नेताहरूले ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन फिर्ता नलिए सत्ता गठबन्धनमा नै संकट आउनसक्ने चेतावनी दिएका हुन् ।

महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिए । एमालेका पाँच सांसदले कुलिङ अफ पिरियडमा संशोधन प्रस्ताव राखेका छन् ।

महामन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउनु पर्ने बताए ।

मंगलबार नै बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रम नेता डा. कोइरालाले समेत कुलिङ अफ पिरियडमा एमालेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

कोइरालाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेर कुलिङ अफ पिरियडको प्रावधान राख्नका लागि अडान लिनुपर्ने बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकलाई सदनमा पारित गर्ने क्रममा सांसदहरूले पनि अध्ययन नगरेर गल्ती गरेको कोइरालाले स्वीकारे ।

कोइरालाले यसमा आफ्नो समेत गल्ती भएको स्वीकार्दै समिति सभापति रामहरि खतिवडाले समेतले गल्ती गरेको बताए । खतिवडालाई कोइरालाले भने–‘हस्ताक्षर गरेर मात्रै हुन्छ । पढ्नु पर्दैन ?’

विधेयकका प्रावधान सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव हाले कांग्रेसको मूल्य मान्यतामाथि नै आक्रमण गर्ने कार्य भएको कोइरालाले बताए ।

पार्टी प्रवक्ता डा. महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेस अब कम्परमाइज गर्न नसक्ने बताएका छन् ।

संसदीय समितिबाट पठाएको व्यवस्थाभन्दा संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि संसदीय छानबिन समिति गठन भएको महतले बताए ।

एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्तावप्रति राखेकोप्रति महतले आपत्ति जनाए ।

कांग्रेसको पूर्ववत अडान रहेको बताउँदै महतले कम्परमाइज नगर्ने बताए । महतले भने–‘यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा कांग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागु हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077