काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारीवाहेक कुनै पनि नेपालका कम्युनिस्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको स्वीकार गरेका छन् ।
माक्र्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा नेता शर्माले नेपालमा ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताएका हुन्।
पूर्व अर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले भने–‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।’