काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएको स्पष्ट घोषणा गरेकी छन् ।
मंगलबार भंगालस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने बताएकी हुन् ।
उनले भनिन्, 'म राजनीतिमा फर्किइसकेको छु, म माझकिरातकी छोरी, खुट्टा कमाउँदिन।' उनले एमालेको सदस्यता २०८० सालमै नवीकरण गरिसकेको दाबी गरिन् । उनले आफू राष्ट्रपति हुँदा पनि सक्रिय राजनीतिमा फर्कने योजना बनाइसकेको स्पष्ट पारिन् ।
भण्डारीले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै भनिन्, 'उहाँ आफैं लोकतान्त्रिकरणको विचारबाट पछि हट्नुभयो ।'
अध्यक्ष ओलीले आफू राजनीतिमा फर्कन नहुने भनिरहेको भन्दै उनले आलोचना गरिन् । 'मैले जहाँ काम गरेँ, पार्टीकै आदेशअनुसार गरेँ,' भन्दै पार्टीले राष्ट्रपतिमा पठाएको निर्णयलाई आज अस्वीकृत गर्नु अनैतिक भएको पनि उनको तर्क थियो ।
साथै उनले अध्यक्ष बन्ने आकांक्षाका कारण विगतमा आफू नेताहरूको 'आँखाको कसिङ्गरू बनेको भन्दै दुःखेसो पोखिन् ।' एमाले केन्द्रीय कमिटीले आफूविरुद्ध कठोर निर्णय गरेमा त्यसबेला प्रतिक्रिया दिने चेतावनी पनि दिइन्।