काठमाडौं । दुई दिनसम्म चलेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको आन्तरिक संरचना, संगठनात्मक चुस्तता र नीति रणनीतिलाई परिमार्जन गर्न ८ बुँदे प्रस्ताव पारित गरेको छ । सोमबार सुरु भएको बैठक मंगलबार मध्यरातमा सकिएको हो ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा २ सय ६४ जना केन्द्रीय सदस्यहरूको सहभागिता थियो । बैठकमा विधान संशोधनसम्बन्धी महत्वपूर्ण विषयहरूमा गम्भीर छलफल भएको थियो ।
गौतमका अनुसार अब एमालेको सदस्यता प्रणाली पुनः दुई तहमा सञ्चालन गरिनेछ — सामान्य पार्टी सदस्यता र संगठित सदस्यता । यसअघि एमालेले यस्तै संरचना अवलम्बन गरेको भए पनि केही समयपछि हटाइएको थियो ।
अब पुनः लागू गरिँदैछ । पार्टीको कार्यसम्पादन चुस्त बनाउने उद्देश्यले केन्द्रीय कमिटी पदाधिकारीको संख्या १५ कायम गर्ने, पोलिटब्युरो सदस्य संख्या केन्द्रीय कमिटीको एकतिहाइ बनाउने र केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने प्रस्ताव अघि सारिएको छ ।
जिल्ला कमिटीलाई हालझैं कार्यकारिणीको रूपमा कायम राख्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्राप्त सुझावहरूलाई समेटेर प्रदेश र जिल्ला तहका कमिटीहरूमा पुनः छलफलका लागि पठाइने भएको छ ।
बहुचर्चित पूर्वराष्ट्रपतिको एमाले पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा लामो र गम्भीर बहस भएको थियो । बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले पदीय गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए ।