काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद आज सकिँदैछ ।
विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन विशेष समिति गठन गरेको थियो ।
उक्त समितिका सदस्यहरू आज बिहानैबाट छलफलमा जुटेका छन् ।
बिहान साढे ७ बजेबाट छलफलमा जुटेका सदस्यहरू दिउँसो करिब १२ बजेसम्म निरन्तर छलफल गरेका थिए ।
त्यसपछि खाना खानका लागि भन्दै समितिका सदस्यहरूले छलफल रोकेका थिए ।
उनीहरू करिब दुई घण्टापछि पुनः छलफलका लागि सिंहदरबारस्थित राज्य, व्यवस्था तथा सुशासन समितिको बैठक हलमा जम्मा भए ।
एकैछिन बैठक बसेपछि सत्तापक्षका सांसदहरु अचानक बैठक स्थलबाट बाहिरिएका थिए । छानबिन समितिकी सदस्य तथा राप्रपाकी सांसद रोशन कार्कीले चारजना सांसद एक्कासि उठेर हिँडेको बताइन्।
उनले भनिन्–‘बैठकबाट एकाएक उहाँहरू एक्कासि उठेर जानु भयो कहाँ जानुभयो थाहा भएन। अहिले हुनुहुन्न। चारै सांसदलाई मोबाइलमा पटकपटक सम्पर्क गर्दा उनीहरूले उठाएनन्। विपक्षी दलका हामी चाहिँ बसिरहेकै छौं ।
विना जानकारी बैठकस्थलबाट बाहिरिएका नेपाली कांग्रेस र एमालेका सांसदहरू सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेर छलफल गरेको स्रोतले बतायो ।
सत्तापक्षका सांसदहरू डेढ घण्टासम्म पनि बैठकमा नआएपछि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू कुरेर बसेका थिए ।
स्रोतका अनुसार, प्रतिवेदनमा कस्ता विषय समावेश गराउने र कस्तो बनाउने भन्नेबारे उनीहरू छलफलमा जुटेका थिए ।
गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको थियो । थपिएको म्याद आज सकिँदैछ ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।
कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
आजसम्म काम गरेर छानबिन समितिले भोलि प्रतिनिधि सभाको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।