सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोधपूर्वक आफूमाथि झुटा मुद्दा दर्ता गरेको आरोप लगाएका छन् ।
आइतबार पत्रकार सम्मेलनमा उनले जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले फोनमा अपशब्द प्रयोग गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरेका हुन् ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भएको अनियमितताबारे चर्को भनाभनपछि प्रहरी घरमा पुगेको र छोरालाई कुटपिट गरिएको उनले आरोप लगाए।
यादवले आफू मधेसी भएकै कारण निशाना बनाइएको दाबी गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष जारी रहने चेतावनी दिए । मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा राति अबेरसम्म काम भइरहेको र त्यहाँ अनियमितता भएको विषयमा नेता यादव र एसपी खड्काबीच फोनमा चर्को भनाभन भएको थियो।
त्यसपछि यादवलाई पक्राउ गर्न प्रहरी उनको घर पुग्दा स्थानीयले प्रहरीको गाडी तोडफोड गरेका थिए। सोही घटनापछि प्रहरीले यादवविरुद्ध ‘आपराधिक उपद्रव’ को मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो ।
तर उनी पक्राउ परेका छैनन् । घटनाको न्यायिक छानबिन र एसपीमाथि कारबाहीको माग गर्दै जसपासहित ६ दलले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।