काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्ने बताएका छन् ।
एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टी बाहिरबाट पार्टीका विरुद्ध प्रहार भए अझ सशक्त प्रतिवाद गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले हाल समग्र प्रहारको निशाना पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताए। ‘हाल हाम्रो पार्टी र आन्दोलनमाथि जुन कुरालाई केन्द्रविन्दु बनाएर प्रहार भएको छ। त्यसलाई विस्थापित नगरीकन हाम्रो आन्दोलन अगाडि बढ्न सक्दैन,’ उनले भने।
महासचिव पोखरेलले नवौं केन्द्रीय कमिटीले पारित गरेका प्रतिवेदन दोस्रो विधान महाधिवेशनमा छलफल गरिने समेत बताए। उनले मिसन २०८४ लाई ध्यानमा राखेर पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिए ।