काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएका छन्। सोमबार बैठक सुरू हुने वित्तिकै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूले सिटबाट उठेर विरोध जनाए।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिए। उनले भिजिट भिसा प्रकरणमा सत्यसत्य बाहिर नल्याएसम्म संसदमा अवरोध कायमै रहने बताए।
साहले भिजिट भिसाको नाममा भएको मानव तस्करको फाइल कहाँ पुग्यो ? भ्रष्टाचारको अडियो बाहिरिएको र घुस मागेको प्रमाण आउँदा पनि राजीनामा दिएपछि सबै पखालिएको हो ? भन्दै प्रश्न गरे ।
उनले भने–‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्वमन्त्रीलाई किन अदृश्य शक्तिको शक्ति दिइरहेको छ ?’
त्यसपछि राप्रपा सांसद ध्रुव बहादुर प्रधानले बोल्नका लागि समय पाए। उनले भिजिट भिसा प्रकरणको छानविनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको आरोप लगाए। उनले भिजिट भिसा प्रकरण सामान्य विष नभएकाले घटनाको छानबिन र अनुसन्धानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरे। उनले साना दलहरूलाई कमजोर नठान्न चेतावनी समेत दिए।
भिजिट भिसाको मात्रै समस्या नभइ नियतको भएको बताउँदै उनले भने–‘भिजिट भिसामा त सबै जान्छन् । इमिग्रेशन पनि जोडियो । जब कुनै ठाउँमा कमिकमजोरी देखियो । ३० लाख जनताको प्रतिनिधित्व गर्ने व्यक्तिबाट विरोध आयो अनि राप्रपा र रास्वपा भनेर व्यवस्था विरोधी र संविधान विरोधी भन्ने कुरा कार्यकारी प्रमुखबाट आउन खेदजनक छ ।’
आज पनि रास्वपा राप्रपाका सांसदहरू संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका हुन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै रास्वापा र राप्रपाले गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको छ ।