काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा बहिष्कार गर्ने अभ्यासले जनताका समस्या समाधान नहुने भन्दै रास्वपा र राप्रपालाई वार्तामा आउन आग्रह गरेका छन् । बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवाद, प्रतिवाद र सहमतिको माध्यम संसद् नै भएको स्मरण गराए ।
जनताले चिताएका परिवर्तनहरू संसद्भित्रैबाट अघि बढ्नुपर्ने धारणा राख्दै उनले भने–‘संसद् वाद गर्ने ठाउँ हो, प्रतिवाद गर्ने ठाउँ हो, संवाद गर्ने ठाउँ हो, निकास निकाल्ने ठाउँ हो । तर अहिले हामी उल्टो दिशामा गइरहेका छौँ। नीति निर्माणको थलोलाई निरन्तर आरोप–प्रत्यारोप र अवरोधले घेरेर जनताको हित हुँदैन।’
उनले सभामुखलाई लाञ्छित गर्ने, प्रधानमन्त्रीलाई आरोप लगाउने शैलीमा संसद् चलाउनु स्वस्थ अभ्यास नभएको बताए। संसद् सबैको साझा थलो भएकाले त्यसलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने उनले बताए ।
शिक्षा विधेयक, निजामती सेवा विधेयक, प्रहरी सेवा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू सरोकारवालासँग प्रतिबद्धता जनाए पनि समयमै पास हुन नसकेको उनले स्मरण गराए।
बैठकमा उनले भने–‘जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्र प्रभावित छन्, यसलाई सम्बोधन गर्न कानुनी संरचना आवश्यक छ, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफैँ वडा कार्यालय धाउनु पर्ने अवस्थाले समस्या थपिएको छ, यस्तो कार्य प्रणालीलाई कानुनीरूपमै सरल बनाउनुपर्छ ।’
संसद्मा निरन्तर बहिष्कार, नाराबाजी र अवरोधले एक पक्षलाई दोषी ठहर गर्दै टाउकोमा दोष थोपरेर हिँड्दा समाधान नआउने भन्दै उनले सबै राजनीतिक दलहरूलाई जिम्मेवार हुन आह्वान गरे ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको छ ।