हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज (मंगलबार) औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन्।
प्रदेश प्रमुख कार्यालय हेटौंडाले दिउँसो ३ बजे मुख्यमन्त्रीको नियुक्ति र ४ बजे सपथ ग्रहण कार्यक्रम तय गरेको जनाएको छ।
मुख्यमन्त्री बानियाँसँगै नेकपा एमालेका तर्फबाट मन्त्रीहरूले पनि आजै सपथ लिने तयारी भइरहेको छ। एमालेका एक सांसदका अनुसार, यसअघिको सरकारमा संलग्न एक मन्त्रीलाई पुनः दोहोर्याइने छ भने अन्य पाँच नयाँ अनुहारलाई अवसर दिइने छ।
एमालेले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। पुनः मन्त्री बन्न लागेका किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
यस्तै, जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसी वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीका रूपमा सिफारिस गरिएका छन्।
सांसदका अनुसार मन्त्रीको नाम टुंगिएपनि मन्त्रालयको जिम्मेवारीमा अन्तिम क्षणमा केही फेरबदल हुने सम्भावना अझै बाँकी छ।